सहकारी दर्ता ५० प्रतिशतले घट्यो

काजी श्रेष्ठ, काठमाडौँ, ८ फागुन । उपत्यकामा सहकारी संस्था दर्तामा ५० प्रतिशतले घटेको छ । सहकारी विभागले गत वैशाखमा जारी गरेको सहकारी सङ्घसंस्था दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड २०६८ ले दर्ता प्रक्रियामा कडाई गरेपछि सहकारी संस्थाको दर्ता घटेको हो ।
सहकारी दर्तामा आएको कमीले यसलाई मर्यादित र व्यवस्थित गर्न टेवा पुग्ने डिभिजन सहकारी कार्यालय काठमाडौँका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । दर्ता प्रक्रियामा गरेको कडाइले सहर केन्द्रित सहकारीको भिडलाई केही हदसम्म नियन्त्रण गर्ने उनको भनाइ छ । ‘अघिल्लो वर्ष काठमाडौँमा महिनाको करिब ५० सहकारी दर्ता हुने गरेका थिए,’ काठमाडौँ डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले भने, ‘अहिले घटेर ६ महिनामा एक सयमा पुगेको छ ।’
काठमाडौँमा हाल तीन हजार आठ सय २६ भन्दा बढी सहकारी सञ्चालनमा रहेका छन् । ‘आव २०६७÷६८ मा चार सय तीन सहकारी संस्था दर्ता भएका थिए ।’ उनले भने यो वर्ष दुई सय पनि पुग्ला जस्तो छैन ।’ शर्माका अनुसार सहर केन्द्रित सहकारी घरघरमा स्थापना हुन थालेकाले दर्ता प्रक्रिया निरुत्साहित गर्न सहकारी मापदण्ड, २०६८ लागू गरिएको थियो ।
बचत तथा ऋण सहकारी संस्था दर्ता गर्दा उपत्यकाका महानगरपालिका तथा उपमहानगरपालिकामा एक–एकवटा, नगरपालिका भए दुई तथा गाविसको हकमा एकमात्र कार्यक्षेत्र तोकिदिएको छ । अन्य सहकारीको हकमा पाँचसम्म कार्यक्षेत्र लिन सकिने प्रावधान भए पनि प्रत्येक वडाबाट २५ सदस्यका दरले एक सय २५ जना सेयर सदस्य भएपछि मात्रै संस्था दर्ता हुने प्रावधान छ ।
एउटै वडाका २५ सेयर सदस्य तथा तीन कार्यक्षेत्र भएकाले स्थानीय ७५ जना सेयर सदस्य जम्मा पार्न कठिन हुने अवस्थामा सहकारी दर्तामा कमी आएको सहकारी सञ्चालकहरू बताउँछन् ।
ललितपुरमा यो वर्ष करिब ५० मात्रै संस्था दर्ता भएको डिभिजन सहकारी कार्यालय ललितपुरका सहकारी अधिकृत बद्री तिवारीले जानकारी दिए । गत आवमा एक सय १० सहकारी दर्ता भएका थिए । अहिलेसम्म ललितपुरमा कुल आठ सय ७५ सहकारी सञ्चालनमा रहेको डिभिजन सहकारी कार्यालय ललितपुरले जनाएको छ । त्यस्तै, भक्तपुर डिभिजन सहकारी कार्यालयका अनुसार जिल्लामा चालु आवको अवधिमा ३० सहकारी दर्ता भएका छन् । हाल भक्तपुरमा पाँच सय ४० सहकारी सञ्चालनमा छन् । मुलुकभर करिब २३ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा रहेको विभागको अनुमान छ ।
ग्रामीण क्षेत्रमा भने सहकारी खुल्ने क्रम बढ्दो छ । ग्रामीण भेगका मानिसले पनि सहकारीको महत्व बुझेकाले यसको सङ्ख्या बढ्दै गएको हो । बचत तथा ऋण, कृषि, चिया, कफी, अलैँची, अदुवा, दुग्धलगायत सहकारी संस्था खुल्ने क्रम पनि जारी छ ।

प्रतिक्रिया