भिलेन बने राजेश

कुबेर गिरी, काठमाडौँ, ८ फागुन । नायक राजेश हमाल अब भिलेनका रूपमा देखिने भएका छन् । चलचित्र ‘मायाज बार’ले उनलाई भिलेन बनाउने भएको हो । यतिवेला नायकको रूपमा नयाँनयाँ अनुहारको प्रभुत्व बढ्न थालेपछि हमाल आफैं पनि आफ्नो छवि केही परिष्कृत गर्ने मुडमा देखिँदै आएका छन् । चलेका भनिएका नायक विराज भट्टको भोजपुरी फिल्मतिरको व्यस्तता र नायक निखिल उपे्रतीको मुम्बई पलायनबीच पनि नायकी भूमिकामा नयाँ अनुहारकै बोलवाला बढ्न थालेपछि राजेश अब कलाकारितलाई टिकाइराख्न भूमिका बढाउने सोचाइमा पुगेको चर्चा चलचित्रवृत्तमा सुनिएको छ ।
राजेशलाई भिलेन बनाउने काम भने निर्देशक दिनेश डिसीले गरेका हुन् । आखिर किन बनाए त उनले राजेशलाई भिलेन ? ‘राजेश हमाल सधैँ एउटै क्यारेक्टरमा मात्र देखिएका छन्, उनको अभिनयलाई अलि फरक देखाउन भिलेनमा लिइएको हो,’ निर्देशक डिसीले भने । कुनै पनि निर्माता तथा निर्देशकले अहिलेसम्म राजेशलाई भिलेनका रूपमा लिएका छैनन् । यो अवस्थामा डिसीको निणर्य चलचित्रका लागि ‘रिस्क’ साबित हुन सक्ने अनुमान पनि कसैकसैले
गरेको भेटिन्छ ।
चलचित्र ‘सावधान’ र ‘दाइको ससुराली’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक डिसीले चार वर्षपछि यो चलचित्र निर्देशन गर्न लागेका हुन् । ‘चलचित्रमा राजेशको भिलेनको भूमिकामात्र होइन, कुनै पनि महिला कलाकारसँग नजोडिने क्यारेक्टर रहेकोसमेत डिसीले प्रस्ट पारे ।
सोमबार शिवरात्रिको अवसार परेर छायाङ्कन थालिएको चलचित्र ‘मायाज बार’को पहिलो दिनको छायाङ्कन सिंहदरबारभित्रका आसपासमा गरिएको छ । स्क्रिप्टअनुसार चलचित्रको छायाङ्कन सेडुल ४५ दिनको रहेको निर्देशक डिसीले जानकारी गराएका छन् ।
निर्देशक दिनेश डिसीको महत्वाकाङ्क्षी प्रोजेक्टका रूपमा केही वर्षअगाडि नै घोषणा गरिएको चलचित्र ‘मायाज बार’को गत २८ भदौमा सम्पन्न सिजी डिजिटल फिल्म अवार्डमा शुभमुहूर्त गरिएको थियो । चलचित्रको लेखनकार्यसमेत डिसीले नै गरेका हुन् ।
सुनिल मानन्धर निर्माता रहेको यस चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर र निशा अधिकारीको मुख्य भूमिका रहनेछ भने यसै चलचित्रबाट नवनायकका रूपमा गजित विष्टले चलचित्रयात्रा सुरु गर्दै छन् । खासगरी मायाको अर्थलाई नयाँ र पृथक ढङ्गबाट प्रस्तुत गर्न खोजिएकाले चलचित्र राम्रो बन्नेमा निर्देशक डिसी ढुक्क छन् । ‘मायाज बार’मा सुरेश अधिकारीको सङ्गीत रहने छ भने छायाकार पुषोत्तम प्रधान, द्वन्द्व–निर्देशक एनबी महर्जन र निर्माण नियन्त्रक शङ्कर पाण्डे रहेका छन् ।

प्रतिक्रिया