माओवादीले सहायक रथी नछाड्ने

काठमाडौं  माओवादीले सेना समायोजन महानिर्देशनालयमा सहायक रथी (कर्णेल) पद नछाड्ने निर्णय लिएको छ । व्यक्तिगत नभई सामूहिक आधारमै सेना समायोजन गर्नुपर्ने अडान पनि उसले पुनः अघि सारेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी समिति बैठकले सो अडान लिएको हो । सेनाले व्यक्तिगत आधारमा समायोजन गर्नुपर्ने र लडाकुलाई मेजरभन्दा माथिको पद दिन नसकिने धारणा शनिबार सार्वजनिक गरेको थियो । माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच भएको सातबुँदे सहमतिमा व्यक्तिगत योग्यताका आधारमा लडाकु समायोजन गरिने उल्लेख थियो । ‘जनमुक्ति सेनाको समायोजन व्यक्तिगत होइन, सामूहिक आधारमा हुनुपर्छ भन्ने हाम्रो पार्टीको पुरानै अडान हो,’ सचिव सिपी गजुरेलले सौर्यसँग भने, ‘आजको बैठकसम्म हामी त्यही अडानमा छौँ ।’ उनले व्यक्तिगत आधारमा समायोजन हुनै नसक्ने बताए ।
लडाकुलाई बढीमा मेजरसम्मको दर्जा दिन सकिने नेपाली सेनाको भनाइमा माओवादीले आपत्ति जनाएको छ । ‘महानिर्देशनालयको कमान्ड नेपाली सेनाले पाउने भएपछि सहायक रथीको जिम्मेवारी जनमुक्ति सेनालाई दिनुपर्छ भन्ने पार्टीको मान्यता हो,’ गजुरेलले भने, ‘मेजरसम्म मात्र दिन सकिने भन्ने सेनाको हिजोको भनाइ हामीलाई मान्य छैन ।’
समायोजनका विषयमा प्रधानसेनापति छत्रमानसिंह गुरुङले यसअघि प्रधानमन्त्रीसँग गरेको भनिएको प्रस्तावलाई माओवादीले समर्थन जनाएको थियो ।

प्रतिक्रिया