असुरक्षाको असर पर्यटनमा

काठमाडौँ, १६ फागुन । शान्ति सुरक्षाको असर पर्यटन क्षेत्रमा पनि देखिएको छ । काठमाडौँको मुटु सिंहदरबारनजिकै बम विस्फोट भएकै दिन बेलायतले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सचेत रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । मङ्गलबार बेलायतले डब्लुडब्लुडब्लु डट एफसिओ डट जिओभी डट युकेमा सूचना जारी गरेको हो । ‘सुरक्षालाई मध्यनजर गरेर संशोधनसहित यो सूचना जारी गरिएको छ,’ फरेन एन्ड कमनवेल्थ अफिसले जारी गरेको सूचनामा उल्लेख छ । विशेषगरी काठमाडौँमा यात्रा गर्दा आफ्ना नागरिकलाई बढी चनाखो हुन बेलायतले आग्रह गरेको छ ।
नेपाल भ्रमण गर्ने नागरिकलाई बेलायती दूतावासस्थित कन्सुलर सेक्सनमा दर्ता हुन र आफ्नो ट्राभल आइटिनरीका बारेमा आफ्ना परिवारलाई जानकारी गराउन बेलायतले अनुरोध गरेको छ ।
नेपालको राजनितिक अवस्था अस्थिर भएको र बारम्बार बन्द हड्ताल, विरोध¥याली तथा प्रदर्शन हुने गरेको उसले उल्लेख गरेको छ । ‘सरकारी कार्यालयनजिकका स्थानमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरिन्छ,’ वेबसाइटमा उल्लेख छ । राजनीतिक प्रदर्शनबाट टाढा रहन र आफ्नो टुर अपरेटरसँग नियमित सम्पर्कमा रहन उसले अनुरोध गरेको छ ।
यसअघि बेलायतले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा राख्दै आएको थियो । अप्रिल ०१० देखि मार्च ०११ सम्म २८ जना बेलायती नागरिकले नेपालस्थित कन्सुलर कार्यालयको सहयोग लिनुपरेको उसले जनाएको छ । बेलायती पर्यटक खर्च गर्ने पर्यटकको रूपमा चिनिन्छन् । सन् ०११ मा ३४ हजार पाँच सय बेलायती पर्यटक नेपाल आएको तथ्याङ्क छ । ०१२ को पहिलो महिना जनवरीमा एक हजार सात सय ६ बेलायती पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको जनवरीको तुलानामा पाँच प्रतिशतले बढी हो ।
यसअघि २२ नोभेम्बर २०११ मा अस्ट्रेलिया सरकारले पनि ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणको क्रममा उच्च स्तरको सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको थियो । संविधान निर्माणमा भइरहेको अन्यौल र बन्दको श्रृङ्खला बढेको भन्दै अस्ट्रेलियाले नेपाल भ्रमणमा सचेत रहन आग्रह गरेको हो । उसले अहिलेसम्म यो एडभाइजरी अपडेट गरेको छैन ।
विदेशी पर्यटक सुरक्षाको मामलामा बढी सम्वेदनशील हुने भएकाले ट्राभल एडभाइजरीको असर पर्यटक आगमनमा देखिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् । एउटा मुलुकले जारी गरेको एडभाइजरीले अर्को मुलुकका पर्यटकसमेत प्रभावित हुने अनुभव व्यवसायीहरूको छ । ‘असुरक्षाको स्थिति पर्यटन व्यवसायमा तत्काल पर्ने देखिएको छ । नेपाल आउने तयारी गरिरहेका पर्यटकले यसबारे पुनर्विचार गर्न सक्छन्,’ टुरिस्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष हरेराम बरालले भने । टुर अपरेटरहरूका अनुसार सोमबारको विस्फोटका कारण पर्यटकहरू उपत्यका वरपरको दृष्यावलोकन तथा सांस्कृतिक प्रदर्शनीमा सहभागी हुन पाएनन् । इन्धन अभावका कारण सवारी साधन चल्न सक्ने स्थितिसमेत नभएको र शान्ति सुरक्षाको प्रत्याभूति नहुँदा व्यवसाय सङ्कटमा परेको व्यवसायीहरूको भनाइ छ । ‘असुरक्षा भयो भने पर्यटकले बसाइ अवधि छोट्याउन सक्छन्,’ बरालले भने ।
कडा ट्राभल एडभाइजरी जारी गर्दै आएको अमेरिकाले भने गत मङ्सिरमा आफ्ना नागरिकलाई निश्चिन्त भएर नेपालको भ्रमण गर्न आग्रह गरेको छ । यसअघि पर्यटन वर्षको सुरुमा उसले नेपाल भ्रमण गर्दा सावधानी अपनाउन आग्रह गरेको थियो । करिब १६ वर्षअघि माओवादीले सशस्त्र युद्ध थालेदेखि नै अमेरिकाले नेपाल भ्रमण खतरापूर्ण हुने बताउँदै आएको छ ।

प्रतिक्रिया