आखिर नेता न हुन् !

एकीकृत नेकपा माओवादीले ७ फागुनलाई नक्कली प्रजातन्त्र दिवस भएको टिप्पणी गर्यो । उसको नेतृत्वमा रहेको सरकारले ६० वर्ष लामो परम्परा तोड्यो । गणतन्त्र आएको मुलुकमा प्रजातन्त्रको नामै उच्चारण गर्न हुन्न भन्ने माओवादी नेतृत्व र उसको सरकारले ठान्यो होला । तर, गणतन्त्रको जग नै २००७ को राजनीतिक परिवर्तन हो भन्ने हेक्का समेत उनीहरूले राखेनन् ।
रमाइलो त के छ भने आफूलाई सच्चा प्रजातन्त्रवादी भएको दाबी गर्ने नेपाली कांग्रेसले समेत यसपालाको प्रजातन्त्र दिवस मनाएन । हुन त आन्तरिक रूपमा प्रजातान्त्रिक संस्कार भए  पो प्रजातन्त्र दिवस मनाउने हो । त्यसैले होला भाषणमा प्रजातन्त्रको रटान लगाउने कांग्रेस नेतागणले औपचारिक कार्यक्रम गरेर दिवस मनाउन नसकेको ।  प्रजातन्त्र दिवस नमनाउने सरकारी निर्णयको विरोध गरेर भने उसले प्रजातन्त्रको उपभोग गर्यो । आफूजस्तै सरकारबाहिर रहेका दलहरूलाई साथ लिएर विज्ञप्तिमार्फत् सरकारी निर्णयको विरोध गरेर नै कांग्रेसले प्रजातन्त्र दिवस मनायो ।
केन्द्रले नमनाए के भयो र, कांग्रेसको काठमाडौँ जिल्ला कार्य समितिले भने पाँच दिनपछि १२ फागुनमा प्रजातन्त्र दिवसको कार्यक्रम गर्यो । कार्यक्रममा प्रमुख अतिथि बनाइए, सभापति सुशील कोइराला । नेपाली संस्कारअनुसार  प्रमुख अतिथि समयमा आउने कुरै भएन, त्यसमाथि सबैभन्दा जेठो र प्रजातान्त्रिक पार्टीका सभापति किन आउने समयमा । एक घन्टा ढिलो गरी कोइराला कार्यक्रमस्थल राष्ट्रिय सभागृह पुगे । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू नरहरि आचार्य र गगन थापाका साथै केही पूर्व केन्द्रीय सदस्य र सभासद्हरू सभापति कोइरालालाई कुरिरहेका थिए ।
बूढो पार्टी न हो, कार्यक्रम पनि पुरानै शैली र कछुवा गतिमै सुरु भयो ।
सभापति कोइराला कार्यक्रमस्थल आइपुगे । उनको आगमनसँगै ठाकुर ढकालले कार्यक्रम सुरु गरे । पुरानै परम्पराअनुसार कार्यक्रम सुरु भयो । जिल्ला सभापति भीमसेनदास प्रधानले स्वागत मन्तव्य दिए । भाषण ठोक्नेहरूको लाइन लामै बन्यो, काठमाडौ कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोल, नेपाल विद्यार्थी सङ्घ र महिला सङ्घकी अध्यक्षसहित आधा दर्जनले मञ्चको सदुपयोग गरे ।
त्यसपछि पालो आयो, उत्तमनारायण श्रेष्ठसहितका प्रजातान्त्रिक सेनानीलाई सम्मान गर्ने । सम्मानितका तर्फबाट श्रेष्ठ र त्यसपछि काठमाडौँ कांग्रेसका नेता लोकेश ढकालले मन्तव्य राख्न थाले भने मञ्चमा आसीन सभापति कोइराला र महामन्त्री सिटौला भने घडी हेर्दै खस्याकखुसुक गर्न थाले । जिल्ला सभापति प्रधानले भाषण छोट्याउन सङ्केत गरेपछि लोकेशले हतारिँदै बिदा मागे ।
सभापति प्रधानले राष्ट्रिय सभागृहको हल दिउँसो दुई बजेसम्मका लागि मात्रै बुक भएको जानकारी पनि नेता÷कार्यकर्तालाई गराए । तर रमाइलो, उनले यस्तो जानकारी गराउँदा घडीमा सवा दुई बजिसकेको थियो । समय अभावका कारण केही वक्ता कटौती गरेर केन्द्रीय सदस्य नरहरि आचार्यलाई बोल्ने पालो दिइयो । तर, दर्शकदीर्घाबाट हुटिङ भयो– ‘गगनलाई बोल्न देऊ ।’ हुटिङ यति भयो कि मञ्चको दोस्रो लाइनमा बसेका गगन नै उठेर सम्झाउनुपर्यो ।
हुटिङ बन्द गरे पनि दर्शकदीर्घामा बसेका कार्यकर्ता टिप्पणी भने गर्दै थिए, ‘केको प्रजातान्त्रिक पार्टी ? आपूmलाई मन नपर्ने र फरक धारको मान्छे भएपछि कांग्रेसका नेताहरू यस्तै(समय छैन) भनेर पाखा लगाउँछन् ।’ प्रजातन्त्र दिवस मनाउने कार्यक्रममा अप्रजातान्त्रिक संस्कार देखाउने भन्दै उनीहरूले आक्रोश व्यतm गरे ।
समाचार सङ्कलनका लागि त्यहाँ पुगेका मसहित अन्य पत्रकार साथीहरूले पनि दर्शक दीर्घाबाट आएका केही आवाजलाई जायजै
हो भन्ने ठान्यौँ । दुई बजेसम्मका लागि बुक गरिएको हलमा झन्डै साढे तीन बजेसम्म कार्यक्रम चल्यो । घडी हेरेर हतार भएजस्तो गरिरहेका सभापति कोइराला र महामन्त्री सिटौलाले पनि लामै भाषण दिए ।
सिटौलाले भाषण तन्काउन थालेको बुझेपछि सभापति कोइरालाले छोट्याउन सङ्केत गरे । त्यसपछि पालो आयो सभापति कोइरालाको । उनले पनि लामै मन्तव्य दिए । कार्यक्रम सकिएको जानकारी गराउने क्रममा सञ्चालकले गगन थापाको नाम के उच्चारण गरेका थिए, हल फेरि हुटिङले गुन्जियो । तर पनि, सञ्चालकले भट्याए, ‘उहाँ (गगन)को सहमतिमा नै बोल्न नदिएका हौँ ।’ अर्को कार्यक्रममा जानु छ भन्दै हतारिएका नेताहरू राष्ट्रिय सभागृहबाट सिधै निवास पुगेको थाहा पाएपछि हाँसो उठ्यो । आखिर नेता न हुन् !

प्रतिक्रिया