‘सञ्चारमन्त्री बन्न पैसाको चलखेल’

काठमाडौँ, १६ फागुन । विनाविभागीय मन्त्री राजलाल यादवले खाली रहेको सञ्चारमन्त्री पदका लागि सञ्चार राज्यमन्त्री सुरीताकुमारी साहले पैसाको चलखेल गरेको आरोप लगाएका छन् । साहले आफूलाई समर्थन गर्न पार्टीका प्रत्येक केन्द्रीय सदस्यलाई पाँच–पाँच लाख रुपैयाँको प्रस्ताव गरेको उनको दाबी छ ।
फोरम गणतान्त्रिकको बैठकपछि सौर्यसँग कुरा गर्दै मन्त्री यादवले यस्तो दाबी गरेका हुन् । पार्टीको बैठकमा पनि उनले सञ्चारमन्त्रीका लागि पैसाको चलखेल भइरहेको कुरा उठाएका थिए । विवादका कारण गणतान्त्रिक फोरमले सञ्चारमन्त्रीका लागि अहिलेसम्म नाम छनोट गर्न सकेको छैन ।
गुप्ता जेल परेको भोलिपल्टदेखि नै गणतान्त्रिक फोरमको केन्द्रीय समिति बैठक सुरु भएको थियो । बैठकको पहिलो दिनदेखि सञ्चारमन्त्री कसलाई पठाउने भन्ने विवाद सुरु भएको हो । विनाविभागीय मन्त्री यादवले रिक्त रहेको सञ्चारमन्त्रीमा पार्टीले आफूलाई सिफारिस गर्नु स्वाभाविक हुने भए पनि पैसाकै कारण अहिलेसम्म सिफारिस नगरेको जिकिर गरे ।
‘राज्यमन्त्री सुरीता साहले आफ्नो नाम सिफारिस गराउन पैसाको चलेखल सुरु गरेकी छन्,’ उनले भने, ‘पैसाको चलखेलकै कारण मलाई पार्टीले सिफारिस गरेन ।’ राज्यमन्त्री सकभर आफै मन्त्री हुने, त्यो नभए आफूभन्दा माथि कसैलाई आउन नदिने योजनामा रहेको यादवको भनाइ छ ।
तर, यस आरोपलाई राज्यमन्त्री साहले ठाडै अस्वीकार गरिन् । ‘मन्त्रीका लागि पैसाको कुनै चलखेल भइरहेको छैन । यो पार्टीको आन्तरिक कुरा हो । पार्टीले जसलाई सिफारिस गर्छ, उही सञ्चारमन्त्री हुन्छ,’ उनले सौर्यसँग भनिन् ।
विनाविभागीय मन्त्री यादवले भने फोरम नेपालबाट गणतान्त्रिक फोरम फुट्नुअघि पनि राज्यमन्त्री साहले झलनाथ खनालको सरकारमा आफू मन्त्री हुन उपेन्द्र यादवलाई दुई करोड रुपियाँ बुझाएको आरोप लगाए । सो रकम रत्नेश्वरलाल कायस्थको खातामा जम्मा गरेको उनको भनाइ छ ।
‘त्यसबेला दुई करोड रुपियाँ बुझाएर सुरीता मन्त्री हुनलागेकी थिइन्, तर पार्टीभित्र विरोध भएपछि सफल भइनन्,’ यादवले भने । राज्यमन्त्री साहले आफू राज्यमन्त्री भएको हैसियतले रिक्त रहेको मन्त्री पदमा आपूmले दाबी गर्नु स्वाभाविक भएको बताइन् । ‘तर, मैले कसैलाई केही भनेकी छैन, पार्टीले जे निर्णय गर्छ स्वीकार गर्छु,’ साहले भनिन् ।
स्रोतका अनुसार पार्टी महासचिव आत्माराम साहले पनि सञ्चारमन्त्री बन्न पार्टीभित्र लविङ सुरु गरेका छन् । संसदीय दलका कार्यवाहक नेता नन्दनदत्त भने विनाविभागीय मन्त्री यादवलाई नै सञ्चारमन्त्रीमा सिफारिस गर्नुपर्ने धारणा राख्छन् । ‘विनाविभागीय मन्त्रीलाई नै जिम्मेवारी दिऊँ कि भन्ने मेरो व्यक्तिगत धारणा हो, तर यसमा अरूले दाबी गर्नु पनि स्वाभाविक छ,’ उनले भने ।
उता, रिक्त सञ्चारमन्त्रीमा प्रधानमन्त्रीले पार्टीको कसैलाई जिम्मेवारी नदिएर आफै लिएकामा मिलिजुली सरकारको चरित्रविपरीत भएको भन्दै गणतान्त्रिक फोरमका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया