साहित्यका लागि प्रचार

इलाम, १६ फागुन । नेपाली साहित्यको वर्तमान अवस्था कस्तो भनेर थाहा पाउने उदेश्यले आईतबारदेखि इलाममा चलेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले छ बुँदे इलाम घोषणापत्र जारी गरेको छ ।
सम्मेलनमा विश्व साहित्य क्षेत्रको वर्तमान अवस्था, साहित्य क्षेत्रको संरक्षणमा खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल गरी घोषणापत्र जारी गरिएको हो । सम्मेलनले नेपाली भाषामा लेखिएका उत्कृष्ठ कृति र रचनाको छनौट तथा संकलन गर्ने, नेपाली रचनालाई अंग्रेजीलगायत अन्य भाषामा अनुवाद गरी प्रकाशनको व्यवस्था गर्नेे, नेपाली कृति र रचनाहरुलाई देश विदेशमा पुर्याउन विभिन्न पत्र पत्रिका, अनलाईन पत्रिका र वेभसाईटहरुको प्रयोग गर्ने घोषणपत्रमा उल्लेख छ ।
यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट प्रकाशित पुस्तक र पत्रपत्रिकाहरु विभिन्न मुलुकहरुमा ढुवानी गर्दा शतप्रतिशत छुट दिन सरकारसँग आग्रह गर्ने, मुलुकभित्र रहेका विदेशी कुटनीतिक नियोग, मुलुकबाहिरका नेपाली दुतावास र विभिन्न मसलुकमा गैरआवसीय नेपाली संघ परिचालन गरी साहित्यको विस्तार गर्ने घोषणा सम्मेलनले गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन इलामको संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपाल, भारत, चीन, बंगलादेश, थाईल्याण्ड, अमेरीका, युरोप, बेलायत लगायतका डेढ सय बढी साहित्यकारको जमघट रहेको थियो ।

प्रतिक्रिया