रागिनीको किचेन क्यानभास

चित्रकलामा निपुण छिन् रागिनी उपाध्याय । त्यसको प्रभाव उनको भान्सामा पनि देखिन्छ । पूरै भान्सा कलात्मक चित्रले भरिएको छ । मानौँ, त्यो पनि आपैmँमा एउटा आर्ट ग्यालरी हो । नशानशामा चित्रकला छ, भान्सामा छिर्नासाथ उनी आफैँलाई पनि क्यानभासअगाडि उभिएको अनुभूति हुँदो हो । यत्ति हो, त्यहाँ उनको हातमा कुची नभएर डाडुपन्यु हुन्छ । रङहरू नभएर नुन, बेसार अनि मसला हुन्छ । रागिनीको हातबाट परिकारहरूमा ती मसला त्यसै गरी सजिन्छन्, जसरी चित्रकलामा रङहरू ।
‘खानेकुरा बनाउने मामिलामा चाहिँ अप्ठ्यारै छ मलाई,’ उनले भनिन्, ‘कसैलाई के मन पर्छ अनि कसैलाई के !’ उनका बेल्जियन श्रीमान्लाई नेपाली खाना त्यति मन पर्दैन, उनका लागि आलुका परिकार बनाउनुपर्छ । ‘तर मलाई र छोरीलाई भने नेपाली खाना र दालभात नै मन पर्छ,’ उनले सुनाइन् ।
बिहान–बेलुकी प्रायः भान्सामै भेटिन्छिन् । तर, दिउँसोचाहिँ घरबाहिरका कामबाटै फुर्सद हुँदो रहेनछ । चाडबाड अनि विदेशी खाना बनाउनुपर्ने बेलाचाहिँ लामै समय भान्सामा बास हुन्छ रे उनको । नेपाली र विदेशी खाना बरोबर पाक्छन् । सबैभन्दा बढी पाक्ने चाउचाउ हो । अहिले उनका पति बेल्जियमतिरै छन् । त्यसैले उनलाई अलि सजिलो छ, नेपाली खाना मात्रै पकाए पुग्छ । भान्सालाई अनेक सामानले सजाउनभन्दा सरसफाइतिर बढी ध्यान दिँदी रहिछन् उनी । भन्छिन्, ‘मलाई भान्सा एकदम सफा चाहिन्छ ।’
विशेष अवसरमा बट्टाई (चरा) पनि आइपुग्छ उनको भान्सामा । त्यसभित्र अङ्गुर, सुन्तला अनि रेडवाइन राखेर बनाएको परिकार पति र छोरीले खुब मन पराउँछन् । क्रिसमसका बेला बेल्जियम पुग्दा त्यहीँका साथीबाट उनले यो परिकार बनाउन सिकेकी रहिछन् । ‘त्यो त साह्रै मीठो हुन्छ,’ मुख रसिलो बनाउँदै उनले भनिन्  । श्रीमान्को रोजाइमा ग्रिन सलाद पनि पर्दो रहेछ ।  उनले सुनाइन्, ‘उहाँहरू हामीभन्दा खानामा बढी सचेत हुनुहुन्छ, प्रायः राम्रोसँग सफा गरेर काँचै खाने उहाँहरूको बानी हुन्छ ।’  त्यसो त खानेकुराका मामिलामा कूटनीतिक रहेछन् उनका पति । खाना मीठो भएनछ भने ‘कस्तो पकाएको’ भन्दैनन् रे ! बरु ‘आज मलाई खान मन छैन’ भन्दै उठ्छन् रे ! ‘तर, म बुझिहाल्छु, खाना नमीठो भएछ !’ यसो भन्दै गर्दा रागिनीको हाँसो भान्साभरि गुन्जियो । विशेष गरी छोरीको रोजाइमा उनले बढी ध्यान दिनुपर्छ । छोरीलाई पाइन केक खुब मन पर्दो रहेछ । ‘मलाई चाहिँ गुन्द्रुकको झोल र परम्परागत मस्यौरा पनि खुब मीठो लाग्छ, सधैँ हेभी खाना मन पर्दैन,’ आफ्नो टेस्ट सुनाइन्  रागिनीले ।  कहिलेकाहीँ भान्साको एकोहोरो स्वाद फेर्न बाहिर पनि निस्कँदा रहेछन् उनीहरू ।
भान्सामा उनलाई एक्लै काम गर्न मन लाग्छ, अरूको उपस्थितिले डिस्टर्ब भएजस्तो लाग्दो रहेछ । श्रीमान्लाई नेपाली खाना त पकाउन आउँदैन तर आलुका परिकारचाहिँ पकाउँदा रहेछन् । कहिलेकाहीँ उनले पकाएको आलुको परिकार रागिनी पनि खान रुचाउँछिन् । उनले भनिन्, ‘यहाँ त यस्तो अवसर कमै पाइन्छ, बेल्जियम जाँदा भने उहाँले नै पकाएको खाने हो ।’
ब्रेकफास्टमा सधैँ एउटै हुन्छ भन्ने छैन । कहिले फलपूmल, कहिले कन्फ्लेक्स अनि कहिले च्याँख्लालगायत फरक–फरक टेस्ट हुन्छ । त्यो पनि उनी आफैँ बनाउँछिन् । भान्साका सामान किन्न उनी आफैँ जान्छिन्, श्रीमान् यस मामिलामा जिरो नै छन् रे ! भान्सामा सेरामिक्सका भाँडा बढी सजाइएका छन्, स्टिलका भाँडा उनको रोजाइमा पर्दैनन् । ‘मलाई त चरेसका भाँडा पनि मन पर्छ,’ आफ्नै व्याख्या छ उनको, ‘मैले त नेपाल र बेल्जियम दुवै देशको संस्कृतिको पालना गर्नुप¥यो नि !’
सानो बेला सम्झिन्छिन् उनी, जतिखेर उनलाई भान्सामा जान मनै हुँदैनथ्यो । आमाको खप्की हुन्थ्यो, ‘कुनचाहिँ बाहुनसँग बिहे हुन्छ अनि थाहा पाउँछे । खाना पकाउन नजानेर हुन्छ, राजामहाराजाले त पकाउनुपर्ने हुन सक्छ !’ उनी सुनाउँछिन्, ‘खुब बदमास थिएँ म त्यतिबेला तर समय बित्दै जाँदा बिस्तारै सिक्दै गएँ ।’ बेलाबखत आमा र दिदीले पकाएको खान पाउँदा निकै मीठो मान्छिन् उनी । भान्सामा साधारण कपडामा एप्रोन लगाउँछिन् । टमाटरको अचार उनको भान्सामा कहिल्यै छुट्दैन । मीठो बनाउने कुरामा निकै ध्यान पु¥याउँछिन्, ‘राम्रो इच्छा गरेर पकाएपछि मीठो त भइहाल्छ नि !’ खानपानमा पनि बेल्जियम र नेपालबीच संस्कृति आदानप्रदान हुन्छ उनको घरमा । श्रीमान् दाललाई सुप मानेर पिइदिन्छन् । उनी रमाइलो मानेर हेरिरहन्छिन् ।

प्रतिक्रिया