‘हेलो सरकार’मा थन्किए ५३ सय गुनासा

काठमाडौँ, १४ फागुन । बाराको हटैया–६ का निर्मलकुमार लामा जनताका गुनासा सुनी तत्काल समस्या समाधान गर्न भन्दै सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ कक्षमा गुनासो लिएर पाँचपटक पुगे । उनको गुनासोको सुनुवाइ भने अझै हुन सकेको छैन । पुरानै समस्या लिएर प्रधानमन्त्री कार्यालयस्थित ‘हेलो सरकार’ कक्ष  पुगेका लामाले आइतबार सौर्यसँग भने, ‘जग्गासम्बन्धी समस्या लिएर यहाँ आएको यो पाँचौँपटक हो तापनि सुनुवाइ भएको छैन ।’
हटैयामा रहेको ५८ बिघा जग्गा माओवादी नेताका नाममा स्थानीयवासीले कब्जा गरेकाले फिर्ता गराउनका लागि आफू सिंहदरबार आएको उनले बताए । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीमा परेका भैँसेपाटीका सुन्दर खनालले पनि तीन महिनाअघि ‘हेलो सरकार’मा उजुरी दिएका थिए ।

उनको पनि उजुरीको सुनुवाइ भएको छैन । गुनासोकक्षमै भेटिएका खनालले भने, ‘यहाँ  नियमित धाएको तीन महिना भयो ।’ वैदेशिक रोजगारीमा पठाउने भन्दै कोटेश्वरका माओवादी कार्यकर्ता युवराज खतिवडा तीन लाख रुपियाँ लिएर फरार भएकाले कारबाही गरिपाऊँ भन्दै उनले उजुरी दिएका छन् । लामा र श्रेष्ठका गुनासोको मात्र सुनुवाइ
नभएको भने होइन । प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीका अनुसार पाँच हजार तीन सयभन्दा बढी गुनासोको सुनुवाइ हुन सकेको छैन । जटिल प्रकृतिका उजुरी कार्यान्वयन हुन नसकेका हुन् । ‘हेलो सरकार’मा गुनासोको चाङ लागेको जानकारी गराउँदै उनले भने, ‘१७ कात्तिकयता ६ हजार सात सयभन्दा बढी उजुरी परेकामा एक हजार चार सय ५९ वटाको मात्र किनारा लगाइएको छ ।

बाँकी कार्यान्वयन प्रक्रियामा छन् ।’ सामान्य प्रकृतिका गुनासा तत्काल सम्बोधन भए पनि अन्तरमन्त्रालयसँग जोडिएका उजुरी कार्यान्वयनमा ढिलाइ भएको उनले बताए । उनका अनुसार गृह, अर्थ, शिक्षा, भूमिसुधार, शान्ति, स्थानीय विकास, श्रमजस्ता मन्त्रालयसँग सम्बन्धित गुनासा बढी आउने गरेका छन् । ‘नागरिकता नपाएको, मालपोतबाट काम हुन नसकेको, शान्तिसुरक्षा कायम नभएको, ठगी गरेको, जग्गा कब्जाजस्ता गुनासा यस कार्यालयबाट सिधै सम्बोधन हुन नसक्ने भएकाले सम्बन्धित मन्त्रालय तथा विभागलाई कार्यान्वयनका लागि निदर्शे न दिइएको छ,’ उनले भने।

स्रोतका अनुसार ‘हेलो सरकार’मा सबैभन्दा बढी उजुरी माओवादी नेता तथा कार्यकर्ताविरुद्ध परेकाले कार्यान्वयनमा ढिलाइ भएको हो । स्रोत भन्छ, ‘माओवादीका नेता,  भासद् तथा कार्यकर्ताविरुद्ध मात्र दुई हजारभन्दा बढी उजुरी परेका छन् ।’ ‘हेलो सरकार’ कक्षका शाखा अधिकृत सरिता चन्दका अनुसार ग्यास नपाएको, पानी नआएको, किन  विधान नबनाएको, राजस्व छली गरेको, पेट्रोल अभाव भएको, आगलागी भएको, शिक्षकहरू विद्यालय नआएको, सडक जाम भएको, मालपोतका कर्मचारीले घुस मागेको, ट्राफिकले दुःख दिएको जस्ता गुनासा धेरै पर्ने गरेको छ .

प्रतिक्रिया