बर्दी र राजनीति

दाङ जिल्लाको ट्राफिक प्रहरीमा कार्यरत नौजनाले दज्र्यानी चिह्नसहित बर्दी खोलेर विरोध जनाएको विषयले चर्चा पाएको छ । हेलमेट नलगाई मोटरसाइकल चलाउने व्यक्तिलाई ट्राफिक नियमको परिधिभित्र रहेर कारबाही गर्न खोज्दा उल्टै ट्राफिक प्रहरीले माफी माग्नुपर्ने अवस्था आएका कारण उनीहरूले त्यसो गरेका हुन् । सवारी चालकलाई ट्राफिक नियम पालना गर्न लगाउने दायित्व प्रहरीकै हो । त्यही दायित्व पूरा गर्न उसलाई राज्यले खटाएको यथार्थ बिर्सन मिल्दैन । जोसुकै भए पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकले अपराधअनुसारको सजाय भोग्नैपर्छ उन्मुक्ति पाउनु हुदैन ।
दाङ जिल्लाका ट्राफिक प्रहरीले एमाले निकट युवासङ्घका घोराही नगर कमिटी सदस्य गणेश नेपालीलाई ट्राफिक नियम उल्लङ्घन गरेबापत ट्राफिक नियमको परिधिभित्र रहेर कारबाही गर्न खोजेको थियो । तर, एमाले नजिक युवाको जमात आएर सडक जाम ग¥यो । प्रहरी प्रशासनलाई धम्क्यायो । अर्थात्, कानुन नमान्ने घोषणा ग¥यो । र, कानुनको पालना गराउनेहरूलाई माफी माग्न लगायो । यस घटनाले नियम पालना नगर्ने त्यो युवा जमातलाई मात्र होइन, सिङ्गो एमाले पार्टी नै बद्नाम हुन पुग्यो ।
नियम, कानुनको उल्लङ्घन गर्दै सुशासनको बर्खिलापमा लाग्ने कार्यकर्ता भएको पार्टीले मुलुकमा कानुनी राज्य स्थापना गर्न सक्दैन । यस घटनालाई एमालेले पनि गम्भीरतापूर्वक लिएर कानुनको उल्लङ्घन गर्ने कार्यकर्ताहरूलाई नसियत दिनुपर्छ । अन्यथा, यस्ता उद्दण्ड कार्यले कानुनी राज्यको अवधारणालाई विस्थापित गर्नेछ र कुनै पार्टीमा सङ्गठित भएकै नाताले अपराध गरे पनि उन्मुक्ति पाउने परिपाटीको विकास हुनेछ ।
एमालेका युवाहरूले जे गरे त्यसलाई माफी दिन सकिन्न । तर, बर्दी लगाएको ट्राफिक प्रहरीले कार्यालय परिसरमै दज्र्यानी चिह्न र बर्दी खोलेर विरोध जनाउनु पनि प्रशंसनीय काम होइन । प्रहरीमा ‘चेन अफ कमान्ड’ हुन्छ । प्रहरी अनुशासनमा प्रतिबद्ध र कर्तव्यनिष्ठ हुनुपर्छ । अन्यथा, त्यो सङ्गठनको प्रभावकारिता रहदैन । आवेगमा आएर बर्दी खोल्ने ट्राफिक प्रहरीले पनि नियम र कानुनको उल्लङ्घन गरेका छन् । यस्ता कार्यले प्रहरी सङ्गठनलाई नै प्रदूषित र कलङ्कित बनाउछ ।
एमालेका युवा र ट्राफिक प्रहरी दुवैका हर्कत नैतिक र कानुनी दुवै दृष्टिले अक्षम्य हुन् । दुवै समूहले गरेको अपराधअनुसारको सजाय पाउनुपर्छ र यस्ता घटना दोहोरिन नदिन राज्य सदैव सजग रहनुपर्छ ।

प्रतिक्रिया