रित्तो आश्रममा एक्ली कपाली

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई अन्तिम क्षणसम्म स्याहारेकी अमिता कपाली करिब एक वर्षदेखि पूरै एक्लिएकी छन् । हरेक बिहान उनी किसुनजी सुत्ने कोठामा रहेको सुराहीमा पानी भर्छिन् तर किसुनजीको प्रस्थानपछि रित्तिएको आश्रममा प्राण भर्न सक्दिनन् ।
सरकारले किसुनजीका लागि बनाइदिएको ललितपुरको बाडेगाउँस्थित आश्रममा कपालीको निरस र एकाकी जीवन बितिरहेको छ । किसुनजीको स्याहारसुसारमा उनले आफ्नो उर्बर यौवनकाल खर्चेकी थिइन्, चौबीसै घन्टा हरप्रकारको सहयोग गरेर । प्रारम्भिक समयमा किसुनजीसितको अस्वाभाविक निकटताबारे अनेक टीका–टिप्पणी हुने गर्थे तर कपालीले परवाह गरिनन् ।
गत वर्ष २० फागुनमा किसुनजीको निधनपछि कपालीको दिनचर्या पूरै फेरिएको छ । पूजापाठ र जपमा उनको धेरै समय बित्छ । पाइलट बाबाकी भक्त कपाली बिहान पाँच बजे उठेर आफ्नो नित्यकर्म सकेपछि किसुनजी सुत्ने कोठामा रहेको सुराहीमा पानी फेर्छिन् । त्यसपछि कम्तीमा दुई घन्टा लगाएर किसुनजीकै कोठामा पूजापाठ र जप गर्छिन् । आश्रममा राखिएको किसुनजीको तस्बिरअगाडि अहिले पनि नियमित बत्ती बाल्ने गरेकी छन् उनले । ‘हजुरबा (किसुनजी) को कोठा पहिले सफासुग्घर गरेपछि मात्र आफ्नो काम गर्छु,’ कपालीले भनिन् ।
बिहानको खाना खानुअघि पकाएका सबै परिकार उनले किसुनजीलाई भोग लगाउने गरेकी छन् । ‘उहाँलाई नचढाई मैले केही पनि खाने गरेकी छैन,’ कपालीले भनिन् । खानापछि धार्मिक पुस्तक पढ्ने र दिउँसो पुनः जप गर्ने उनको दिनचर्या छ । साँझ पनि जप र ध्यानमै बित्छ । साँझको ध्यानमा भान्साका सहयोगी ऋषिलाई पनि साथमा राख्छिन् । प्रत्येक शनिबार आश्रमको ठूलो हलमा पाइलट बाबाका अन्य अनुयायीलाई समेत सहभागी गराएर ध्यान गर्ने गरेकी छन् ।
आफ्नै घरमा बसेझै लामो समय किसुनजीसित बसेकाले माया लागेर आश्रम छोड्न नसकेको कपालीको भनाइ छ । तर, सरकारले आफुलाई हटाउन चाहे चुपचाप निस्किने उनले बताइन् । ‘हजुरबा यहीँ बस्नुभएको थियो, त्यसैले आफ्नै घरजस्तो लागेर बसिरहेकी छु’, उनले भनिन्, ‘सरकारले आश्रमको सुरक्षा जिम्मा लिएर मलाई निकाले पनि मञ्जुर छ ।’ आश्रमलाई सङ्ग्रहालय बनाउन किसुनजीले प्रयोग गरेका सबै सामग्री हस्तान्तरण गर्न पनि आफूमा तयार रहेको उनले बताइन् ।
किसुनजीको सुरक्षाका लागि सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी गत २९ पुसमा फिर्ता भए । सर्वोच्च अदालतले नियमावली बनाएर मात्र भूतपूर्व भिआइपीहरूलाई सुविधा लिन र दिन सरकारलाई आदेश दिएपछि आश्रममा रहेका सबै सुरक्षाकर्मी फिर्ता लगिएका थिए ।
भान्से ऋषि गुरुङलाई भने सरकारले फिर्ता बोलाएको छैन तर उनी राति त्यहाँ बस्दैनन् । आश्रममा रहेका सुरक्षाकर्मी फिर्ता भएपछि कपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छेदारलाई टेलिफोन गरी सुरक्षाव्यवस्था मिलाइदिन आग्रह गरेकी थिइन् । केही दिनअघि एउटा प्रहरी टोली गृहमन्त्रालयले त्यहाँ पठाइदिएको छ ।
किसुनजीको जन्मदिनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उपहार दिएको गाडी पनि सरकारले फिर्ता लगेको छ । किसुनजीले त्यसअघि प्रयोग गर्दै आएको बा ३ च ७७२१ नम्बरको गाडी भने आश्रममै छ तर प्रयोगमा छैन । कपालीलाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता शरतसिंह भण्डारीले एउटा गाडी उपलब्ध गराएका छन् । भण्डारीले मासिक २० हजार रुपियाँ किस्ता तिर्ने गरी निकालिदिएको गाडी कपालीले चढ्ने गरेकी छन् ।
कांग्रेसका नेताहरू दीपकुमार उपाध्याय, पूर्णबहादुर खड्का तथा लोकतान्त्रिक फोरमका नेता शरतसिंह भण्डारी आक्कलझुक्कल आश्रम पुगेर त्यहाँको अवस्थाका विषयमा चासो राख्ने गरेका छन् । अन्य नेताहरू भने आश्रममा नआएको कपालीले बताइन् ।
झन्डै ३० वर्र्षअघि किसुनजीसँग नेविसंघ कार्यकर्ताका रूपमा भेटेकी कपालीले २०४६ सालको राजनीतिक परिर्वतनपछि सहयोगीका रूपमा काम गर्न थालेकी हुन् । बाबु कांग्रेसको राजनीतिमा लागेकाले उनको घरमा नेताहरूको आवतजावत भइरहन्थ्यो । किसुनजीसँग भेट भएपछि उनलाई कार्यकर्ताका रूपमा राजनीतिक सहयोग गर्न थालेकी थिइन् । किसुनजी अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुअघि नै कपाली घर–परिवार त्यागेर उनको स्याहारमा जुटिन् र अहिलेसम्म अविवाहित नै रहिन् । झन्डै तीन दशक किसुनजीको अभिन्न अङ्ग बनेर
रहिन् कपाली ।


भट्टराईको समाधि बनाइने सरकारले भट्टराई आश्रममा उनको समाधि बनाउने भएको छ । कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले चालू आर्थिक वर्षमा सरकारले विनियोजन गरेको रकममध्येबाट आश्रमको मर्मत गर्ने र समाधि बनाउने बताए । ‘मर्मतको काम भइरहेको छ’, उनले भने, ‘समाधि पनि छिट्टै निर्माण हुन्छ ।’ आश्रमलाई सङ्ग्रहालयका रूपमा विकास गर्न कानुन र संस्कृति मन्त्रालयले कानुन बनाउने तयारी गरिरहेको उपाध्यायले जानकारी दिए ।
चार वर्षअघि किसुनजी तत्कालीन कांग्रेसका नेता शरतसिंह भण्डारीको भैँसेपाटीस्थित घरबाट आश्रममा सरेका थिए । तर, आश्रमको निर्माणकार्य अभैm पूरा भएको छैन । आश्रम निर्माणमा तीन करोडभन्दा बढी रकम खर्च गरिसकेको सरकारले अभैm निर्माणकार्य जारी राखेको छ । चालू आर्थिक वर्षमा आश्रम निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । १८ असोज २०५९ को शाही कदमअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईको नाममा आश्रम निर्माणका लागि पाँच रोपनी जग्गा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया