युवाका साथी

टेबुलमा राखिएको चियाको कप उचाल्दै २१ वर्षीया ऋचा गिरी कलेजमा बिताएका वर्षहरूको समीक्षा गर्न थालिन्, ‘ प्लसटुभन्दा ब्याचलरका दिनमा आफू निकै परिपक्व भएजस्तो लाग्छ ।’ गोल्डेनगेट कलेजबाट प्लस टु सकेकी उनी अहिले सोही कलेजबाट मानविकीमा स्नातक गर्दै छिन् । प्लस टुको उल्लास अनि कलेज प्रशासनले गर्ने कडाइलाई ऋचाका साथीहरूले पनि मीठो अतीतका रूपमा सम्झेका छन् । ‘उमेर र पढाइसँगै आफूमा दायित्वबोध बढेको छ’, २० वर्षीया तमन्ना श्रेष्ठले मूल्याङ्कन गरिन् ।
विद्यार्थीको एसएलसीपछिको उमङ्ग अहिले प्रायः निजी क्याम्पसहरूको जिम्मेवारीमा आइपुग्छ । अनुशासनमा कडाइ गरेर विद्यार्थीबाट राम्रो प्रतिफल निकाल्नु नै उनीहरूको ध्याउन्न देखिन्छ । राम्रो नतिजामार्पmत प्रतिष्ठा जोगाउन क्याम्पसहरूबीचको आपसी प्रतिस्पर्धा पनि हो, कडा अनुशासनको यो शैली । विद्यार्थीहरूचाहिँ यसलाई कसरी लिन्छन् त ? ‘हामीमा जिम्मेवारीबोध पनि थिएन र मस्तीबाहेक दिमागमा अरू केही पनि थिएन’, २२ वर्षे विभास ओझा बोले, ‘त्यस्तो बेलामा क्याम्पसले कडाइ गर्नु स्वाभाविकै थियो होला ।’ बुटवलकी २२ वर्षीया नन्दा गुरुङ पनि उनका कुरामा सहमत देखिइन्, ‘पढाइमा सिरियस त हुनैपर्यो नि ।’ ‘सिरियसनेस’ आफूमा ठीक्क रहेको उनीहरूले सुनाए । ‘हामी क्याम्पसले गरेका गल्तीविरुद्ध आवाज उठाउन सक्छौँ, राम्रा काममा कलेजलाई साथ पनि दिन्छौँ’, रौतहटबाट आएकी १९ वर्षीया श्रीति गिरीले शान्तसँग आफ्ना कुरा राखिन् । अहिले पढिरहेको क्याम्पसका शिक्षकहरूले आफूलाई राम्रो व्यवहार गरेको उनीहरू गर्वसाथ सुनाउँदै थिए । समाज र मानवसँग नजिक भएर अध्ययन गरिने मानविकी सङ्काय आफैँमा त्यो आपसी सम्बन्धको सहयोगी रहेको उनीहरूको तर्क छ । ‘शिक्षकहरू हामीलाई अनुशासित विद्यार्थीका रूपमा लिनुहुन्छ, यो अध्ययनले हामीलाई अनुशासन र परिपक्वता दुवै दिलाएको छ’, उनीहरूले सुनाए ।
कलेज ‘बंक’ एकचोटि पनि नगर्ने त को होला र विद्यार्थी जीवनमा ? यी विद्यार्थीले चाहिँ कत्तिको अँगाले त यो संस्कृति ? ‘प्लसटुमा हुँदा त अलिअलि गरियो’, ऋचाले लाज मान्दै भनिन् । ‘अहिले त कलेज आउन मन लागेन भने घरमै सुतिन्छ तर कलेज बङ्क गरिन्न’ २२ वर्षीया सिर्जना श्रेष्ठले ऋचालाई साथ दिइन् । विभास भने कलेज ‘बंक’ गर्न रमाइलो मान्दा रहेछन् । उनी भन्छन्, ‘कहिलेकाहीँ बंक गर्नुको त मज्जै बेग्लै ।’ सुनेर, चिया सुक्र्याउन ठीक्क परेका ओठलाई गिलासबाट हटाउँदै मज्जाले हाँसिन् सिर्जना ।
जस्तै भने पनि कलेज जीवनमा गरिने उटपट्याङको शृङ्खला लामै हुन्छ, जतिसुकै अनुशासित भए पनि कहिलेकाहीँ एकनासको दैनिकीबाट फुत्कन चाहिहाल्छ किशोरवय । ‘यसो, कहिलेकाहीँ नियमबाहिर जाँदा पनि स्वतन्त्रताको सास फेरेजस्तो हुन्छ’, उनीहरूले अनुभव सुनाए । तर, आफ्नो कर्तव्य नै नाघेर हिँड्न भने नहुने उनीहरूको ठम्याइ छ ।
अहिलेका कलेजका विद्यार्थी ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड नबनाउने कमै हुन्छन् । यस मामिलामा कस्ता छन् त यिनीहरूचाहिँ ? ‘भो पुग्यो, अब यो लभ–सब भन्ने कुरामा इन्ट्रेस्ट छैन ।’ सिर्जनाले यसपटक मुख छोपिन्, तमन्ना मुसुक्क हाँसिन् । यद्यपि, आफ्नै उमेर समूहका केटाहरूले जिस्काउँदा स्वाभाविक रूपमा लिने गरेको उनीहरूले लुकाएनन् ।
कहिलेकाहीँ आफ्नो उमेरभन्दा निकै पाका मान्छेले बाटातिर जिस्क्याउँदाचाहिँ खुब रिस उठ्छ रे ऋचालाई । ‘कहिलेकाहीँ केटीहरू केटाले जिस्काउँदा मख्ख पर्छन्’, विभासले प्वाक्क बोले । नन्दाले भनिन्, ‘मुडमा भर पर्छ ।’
आमसञ्चार र प्रयोगात्मक विषयदेखि अर्थशास्त्र र साहित्यजस्तो सैद्धान्तिक विषयसम्म पढ्ने यी विद्यार्थीलाई रमाइलोचाहिँ प्रयोगात्मक शिक्षामा लाग्छ । प्रयोगात्मक विषय राखेर पनि प्रयोगशाला नराखिएकामा कलेजप्रति गुनासो पनि गर्छन् उनीहरू । ‘माग गछौंँ, तैपनि हामी सरकारी क्याम्पसमा जस्तो आगै बालेर आन्दोलनचाहिँ गर्दैनौँ’, सिर्जना सुनाउँछिन्, ‘यसो नगर्दा पनि क्याम्पस हाम्रा माग पूरा गर्न लचिलो हुन्छ ।’ आमसञ्चारअन्तर्गत स्नातक तेस्रो वर्षमा क्याम्पसले टेलिभिजन पत्रकारिता पढाउने आशा पनि उनीहरूले गरे । ‘हाम्रो ब्याचबाट कलेजले टेलिभिजन पत्रकारिता सुरु गर्यौ भने हामी धेरै खुसी हुन्छौँ’, सिर्जनाले थपिन् ।
गत वर्ष उनीहरू कलेजबाटै रोल्पासम्म घुमेर त्यहाँको जनजीवन अध्ययन गरेर आए । ‘हाम्रो क्याम्पस लाइफको त्यो नै अविस्मरणीय क्षण बन्यो’, तमन्नाले खुसी देखाइन् । कलेजको पर्खालभित्र बसेर वर्षभरि पढ्नभन्दा रोल्पासम्म पुगेर समाज बुभ्mन पाएकामा बढी सन्तुष्ट देखिन्छन् उनीहरू । ‘हाम्रो देश गाउँ नै गाउँले बनेको छ, हामीले सबैभन्दा पहिला गाउँ बुझ्नुपर्ने रहेछ’, नन्दा सुनाउँछिन् ।
रोल्पामा उनीहरूले आफ्नै उमेरसमूहका युवा भेटे । कोही अवसर नपाएर त्यसै रन्थनिएका, कोही क्षमता भएर पनि ठाउँ नपाइरहेका । ती युवालाई अवसर दिन स्रोतको विकेन्द्रीकरण गर्नुपर्ने माग पनि उनीहरूले सरकारसँग गरे । ‘युवाशक्तिलाई सिर्जनशीलतातर्फ लान सरकारले भूमिका खेलोस्’, विभासले आफ्नो धारणा राखे । तमन्नाले थपिन्, ‘लभ योर कन्ट्री ।’
‘हिलो छुनु नराम्रो हैन, सधैँभरि हिलोमा रहनु पोे नराम्रो त !’ युवा अधिकारकर्मी वसन्त अधिकारीले आफ्नो अतीत सम्झे ।  आफ्ना उर्वर वसन्तमा उनी सिर्जनात्मक पालुवा उमार्नबाट चुकेका थिए, लागुऔषध दुव्र्यसनमा परी जिन्दगीका केही अमूल्य वसन्त खेरफालेका थिए । एसएलसी सिध्याएपछिको उमङ्ग र स्वतन्त्रतालाई सही बाटामा लैजान चुक्दा अधिकारी लागुऔषध दुव्र्यसनमा फसे । अधिकारीजस्तै धेरै युवा थिए त्यस बेला जो आफ्ना मुलायम पाखुराभरि पीडा रोप्थे अनि क्षणिक आनन्द लिन्थे, अक्सिजनसँगै कुण्ठा पिउँथे, धुवाँ बनाएर उडाउँथे ।
२४÷२५ वर्षको कोमल जिन्दगीसँग जिस्किरहेका वसन्तको मन नशाले पनि आनन्दित हुन सकिरहेको थिएन । उनले जसोतसो आइए त उत्तीर्ण गरे, स्नातकमा अल्मलिए । पढाइ लथालिङ्ग भएपछि एकपटक झस्किए । दुव्र्यसनमा फसेका वसन्तलाई हेर्नेहरूको दृष्टिकोेण अर्कै भइसकेको थियो यतिवेलासम्म । चिन्नेहरू पनि नचिनेजस्तो गर्न थालेका थिए । काम दिने कोही भएन, आपूm हिलोमा गाडिइसकेको अनुभूति गरे उनले ।
तर, एउटा व्यक्ति यस्ता आए, जसले उनको जीवनलाई सकारात्मक मोड दिए । बाबुराजा श्रेष्ठले उनलाई विराटनगर उपमहानगरपालिकामा वातावरणीय सरसफाइसम्बन्धी काम दिए । कुलतमै थिए उनी, तर मन त्यसबाट उम्किन चाहिरहेकै थियो । उपमहानगरको कामले उनलाई त्यसबाट निकालिछाड्यो । यति बेलासम्म उनको जिन्दगीले अर्को लत समातिसकेको थियो– समाजसेवाको । समाजविकासको यो लत उनमा कायमै छ, झनै घना भएर जाँदै छ ।
उनका आँखाभरि त्यस्ता युवा नाच्न थाले, जो प्रतिभा पोख्न नपाएर कुण्ठित छन्, आफ्ना सपना हुर्काउन सकिरहेका छैनन् । कुलतवश जिन्दगी सिध्याउन विवश छन् । उनले विराटनगरमै रहेर एचआइभी÷एड्सका क्षेत्रमा काम गरे अनि स्नातक पनि उत्तीर्ण । अब उनी युवा अभियान संस्थाका लागि मोरङ जिल्लाको जिम्मेवारी सम्हाल्न सक्षम भइसकेका थिए ।
समाजप्रतिको यो संलग्नताले अधिकारीको स्वदेशमोह पनि बलियो हुँदै गएछ । त्यो कसरी भने, उनी अन्तर एसिया गैरसरकारी संस्था विषयमा स्नातकोत्तर गर्न कोरिया पुगेका थिए यसबीच । पढाइ सकिएपछि सँगै गएका साथीहरू उतै घरजम गरेर बसे । उतै व्यापार–जागिर गर्न थाले । तर, अधिकारीलाई त्यो शैली पटक्कै चित्त बुझेन । उनी नेपाल फर्किए, आफूभित्रको सिर्जना अनि समाजविकासको चाहनाले उनलाई धकेलिरहेको थियो । त्यही सिर्जनशीलता नेपाल फर्किएर रोपे । यतिखेर त्यो फलिरहेछ, युवाबीचमा ।
अहिले युवा सामाजिक कार्यकर्ताबीच जोसिलो नाम बनिसकेका छन्, वसन्त । केही दिनअघि राजधानीको भृकुटीमण्डपमा भेटिँदा उनी थुप्रै युवाले घेरिएका थिए, चलचित्रको नायकजस्तै । सामाजिक विकासका क्षेत्रमा योगदान पुराएबापतको अवार्ड थाप्न आइपुगेका थिए उनी । अवार्ड पाउनेमा अन्य केही चर्चित समाजसेवी अनि विदेशी नागरिक पनि थिए ।
युवा सशक्तीकरणका लागि आफ्नै पहलमा कार्यशाला चलाउँछन्, उनी । गोष्ठी गर्छन्, चेतना बाँड्छन् । यसबीच उनको चेतनाशक्तिले काम पनि राम्रै गरेको छ, थुप्रै युवा उनको बोलीले सुध्रिएका छन् । वसन्तको स्पर्शले युवाहरूको प्रतिभा र क्षमता कुण्ठित हुनबाट जोगिएको छ । यही उपलब्धि वसन्तको वास्तविक सम्पत्ति बनेको छ । ‘मान्छेसँग व्यवहार गर्ने कला नै ठूलो हो, हामीले जे रोप्यो त्यही फल्ने हो’, पहिले आफैँ अलमलमा पर्ने वसन्तले अहिले जीवनवादी मार्गदर्शन बोकेका छन् ।
जीवनमा अगाडि बढ्न प्रतिस्पर्धा गर्नैपर्छ । उनले पनि गरेका छन् । त्यसलाई उनी यसरी व्याख्या गर्छन्, ‘मेरो प्रतिस्पर्धा म आफैँसँग हो, मेरो जिन्दगीका परिवर्तन नै मेरा प्रतिस्पर्धी हुन् ।’ उनलाई लाग्छ, ‘समयको महत्वलाई बुझ्न नसक्नु, आत्मविश्वासमा गिरावट आउनु अनि उद्देश्यका लागि प्रस्ट दृष्टिकोण नहुनु अहिलेका युवाका प्रमुख समस्या हुन् ।’


किशोरावस्थाका रुचिहरू कुण्ठित भएर रहँदा आफुलेले बाटो बिराउनुपरेको उनले बिर्सेका छैनन्, ‘यदि मेरो पेन्टिङ गर्ने र गाउने कलालाई परिवार र समाजले बुझेको भए सायद त्यतिबेला म ड्रगिस्ट हुन्नथेँ’, उनले लामो सुस्केरा फ्याँके अनि भने, ‘कुण्ठित युवालाई बाटो देखाउनु छ ।’
उनी बदलिए, वार्षिक क्यालेन्डरहरू बदलिए तर समाज अझै बदलिनुपर्ने जति बदलिएको छैन । अल्झाउन खोज्छन् उनलाई मान्छेहरू अझै पनि । उनका अभिव्यक्तिलाई ‘भित्तीका कुरा’ भन्दै आलोचना गरिदिन्छन् । तैपनि, आशावादी छन् उनी, ‘समाज बदलिन्छ, अलिअलि बदलिएको पनि छ ।’
‘मान्छेले गरिखान पाउनुपर्छ’, बेरोजगारको पीडाले छोएपछि अहिले यस्तो माग गर्न थालेका छन् उनी । उनी प्रतिनिधि हुन्, तर यो माग सबै युवा पुस्ताको साझा हो । ‘यी सबै अभियान र आन्दोलन कुनै संस्थाद्वारा प्रायोजित नभई सामाजिक कल्याणका लागि हुन्, उनले प्रस्ट्याए, ‘बन्द या हड्तालका वेला विराटनगरदेखि दमक वा लाहानसम्मै साइकल चलाएर युवा–उत्थानका कार्यक्रम गर्न पुगेको छु ।’ नशाबाट नशामै छिरेका छन् उनी । अहिले झन् छाड्न नसकिने नशा बनिसकेको छ– समाजविकास, सिर्जनशीलता र रूपान्तरणको । ‘नशा नै लिनु त राम्रै चिजको’, यसो भन्दै टाउको फट्कार्दा उनको कानमा अल्झिएको मुन्द्रा एकपटक फेरि हल्लियो ।

प्रतिक्रिया