धनगढी । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसले स्नातक तहका परीक्षा सञ्चालनको निक्र्याेल निकाल्न सकेको छैन । कोरोना महामारीका कारण जारी लक डाउनले गत चैत, बैशाखमा लिइसक्नुपर्ने परीक्षाको टुंगो लाग्न नसकेको हो । यसअघि १२ भदौदेखि सेमेस्टर प्रणालीका परीक्षाहरू सञ्चालन गर्ने जनाए पनि तयारी अपुग रहँदा परीक्षा मिति प्रकाशित गर्न सकेको छैन । सात संकायबाट अध्ययन अध्यापन भइरहेको विश्वविद्यालयले प्रथम, तेस्रो र पाँचाँै सेमेस्टरको संकायको परीक्षा आवेदन खुला गरेको छ ।
तर, उनीहरूको परीक्षा मिति भने अझै तोक्न सकेको छैन । अन्य सेमेस्टर तथा चौथो वर्षका विद्यार्थीहरूले पनि परीक्षा आवेदन खुलाई परीक्षा मिति तोक्न आग्रह गरेका छन् । एकातिर चौथो वर्षका विद्यार्थीको अन्तिम परीक्षा गत वैशाखमै लिइसक्नुपर्ने हो । तर, बिबिएसका परीक्षाको कुनै जानकारी नआउँदा अन्यौलता परेको चौथो वर्षका कृष्ण सिंह ऐरले बताए । उनले परीक्षा आवेदन मात्रै खुला गरी विश्वस्त हुने वातावरण सिर्जना गर्न माग गरे ।
परीक्षा नियन्त्रक देवसिंह नाथले असोज दोस्रो सातादेखि तयारी अगाडि बढाइएको बताए । उनले तेस्रो सेमेस्टार र प्रथम सेमेस्टारका विद्यार्थीले परीक्षा आवेदन फारम भरिसकेकाले उनीहरूको परीक्षा असोज दोस्रो सातापछि सुरु हुने गरी तयारी थालिएको बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसले आंगिक १४ वटै क्याम्पसका परीक्षा अनलाइन विधिबाट सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ । तर, इन्टरनेटको पहुँच या विद्युतीय उपकरणको अभाव झेलिरहेका विद्यार्थीको परीक्षा लिन केही चुनौती विश्वविद्यालयलाई छ ।
तर, विश्वविद्यालयका रजिस्टार गोबिन्दसिहं विष्टले भने इन्टरनेटको पहुँचमा नपुगेका विद्यार्थीहरूका लागि सम्बन्धित स्थानिय तहसँग समन्वय गरी परीक्षामा सहभागी गराइने बताए । उनले पहाडी जिल्लाका विद्यार्थीको हकमा स्थानीय तहसँग समन्वय कार्य अगाडि बढाइएको जनाए । उनले परीक्षा असोज महिनाभित्र नै सञ्चालन गरिने बताउँदै परीक्षा मिति पनि छिट्टै तोकिने बताए । कोरोना महामारीका कारण चैतदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले लिने जाँचका विषयमा टुंगोमा लाग्न सकेको थिएन । तर, विश्वविद्यालय अनुदान आयोगले विभिन्न पाँच विधि मध्ये उपयुक्त विधि छनौट गरी आर्थिक वर्ष खेर नजान निर्देशन जारी गरेपछि एउटा विधिमा विश्वविद्यालयले विचार पु¥याएको छ ।
विश्वविद्यालय अनुदान आयोगले सिकाइ व्यवस्थापन प्रणाली विधि, निरन्तर मूल्यांकन, वास्तविक समय अनलाइन परीक्षा, ‘खुला बुक, खुला श्रोत’ विधि र मौखिक परीक्षा मध्ये उपयुक्त विधि छनौट गरी परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो । विश्वविद्यालयले निरन्तर मूल्यांकन विधिलाई अवलम्बन गर्न खोजेको थियो । तर, उक्त विधिमा विगतका वर्षमा उत्तीर्ण विद्यार्थी तथा कक्षामा सहभागिताका आधारमा उत्तीर्ण गराउनुपर्ने हुँदा महामारीले कक्षा सञ्चालनमा पु¥याएको बाधाले पनि अनुपयुक्त लागेको परीक्षा नियन्त्रक नाथले बताए ।
उनले महामारीको समयमा खुला बुक, खुला स्रोत विधि नै उपयुक्त रहेको बताए । खुला बुक खुला स्रोत विधिबाट विद्यार्थीहरूले घरमै बसी पुस्तक खोलेर सोधिएका प्रश्नको जवाफ राख्न सक्नेछन् । तर, यस विधिले भने विद्यार्थीको मौलिकतालाई प्राथमिकतामा राख्ने परीक्षा नियन्त्रक नाथ बताउँछन् । ‘उसो त यस विधिबाट सबैमा प्राप्तांक उच्च आउने उत्साह छाएकै होला’, उनले भने, ‘तर पुस्तक खोल्न पाए पनि मौलिकतालाई नै उच्च प्राथमिकता दिइनेछ ।’ उनले ‘खुला बुक, खुला श्रोत’ विधि विश्वविद्यालयका लागि नयाँ र उपयुक्त रहेको दाबी गरे । जसका लागि प्रश्नपत्रको मोडालिटी तयार गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया