लाइबेरियामा इबोला नियन्त्रणसँगै स्वास्थ्य सेवा सुरु

Ebola-timelineमोनरोभिया, ४ वैशाख । इबोला रोगको संक्रमणका कारण क्षतविक्षत बन्न पुगेका लाइबेरियाका विभिन्न स्वास्थ्य संस्थाको पुनः स्थापना कार्य सुरु भएको छ । इबोला संक्रमणका कारण त्यहाँ निकै ठूलो क्षति पुगेको थियो । ती संस्थामा स्वास्थ्यकर्मीको उपस्थिति नरहने तथा आवश्यक पूर्वाधार पनि नभएको बताइएको थियो । उपचारमा संलग्न व्यक्तिलाई नै संक्रमण हुने खतराका कारण सो अवस्था आएको थियो । विभिन्न सहयोगी संघसंस्था एवं दातृ राष्ट्रको सहयोगमा यो कार्य सुरु भएको हो । लाइबेरिया सबैभन्दा बढी प्रभावित पश्चिम अफ्रिकी मुलुक मध्येको एक हो ।
खासगरी इबोलाको संक्रमण सुरुभएपछि पनि सामान्य औषधि उपचारको अभावमा नागरिकको मृत्यु भएको थियो । यसको संक्रमण बढ्नु अगावै नागरिकमा देखापर्ने अन्य सामान्य रोगको संक्रमणको पनि उपचार नपाएकोले नागरिकको ज्यान गएको थियो । यस्तो समस्या विशेषगरी बालिबालिकामा देखापरेको थियो । सयौँ बालबालिका समयमै औषधि नपाएर मृत्यु भएका थिए । आगामी दिनमा यस्तो समस्या नदेखियोस् भनेर स्वास्थ्यका संरचनाको पुनः निर्माणमा लागिएको लाइबेरियाका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
सन् २०१३ को डिसेम्बर महिनामा देखापरेको यो संक्रमणका कारण कम्तिमा पनि दस हजार ६ सय जनाको ज्यान गएको थियो । त्यसमा करिब पाँच सय स्वास्थ्यकर्मी नै थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मीकै ज्यान जान थालेपछि भने सो रोगको अवस्था अत्यन्त भयावह बनेको थियो । यसैकारण पश्चिमी अफ्रिकी देशमा स्वास्थ्य सुविधाको पूर्वाधार निर्माण गर्नुपर्ने अवस्था रहेको देखिएको छ । हाल यस रोगको संक्रमण दर घटिसकेको छ । अब यसको पहिचानको विधि चाँडै गर्न सकिने गरी पत्ता लागिसकेको छ भने उपचारका क्रममा स्वास्थ्यकर्मीलाई असर नपर्ने तरिकाको आविष्कार भइसकेको छ । त्यसैगरी सो संक्रमणले व्यापक सताएको गुयनाको पश्चिमी क्षेत्रमा सो रोगका विरुद्ध लड्नका लागि विगतका केही हप्तादेखि सञ्चालित अभियानलाई अझ मजबुत गरी थप कदम चालिने त्यहाँका राष्ट्रपति अल्फा कोन्डेले बताएका छन् । उनले रोगबाट मृत्यु भएकाको शव गाड्दा कडाइका साथ स्वास्थ्य मापदण्डहरू लागू गरिने र संक्रमणको सबै सम्भावित द्वार बन्द गर्न संकटकालीन उपाय अवलम्बन गर्न कुनै पनि कसर बाँकी नराखिने जानकारी दिएका छन् । यस संक्रमणका कारण ज्यान गएकाको शव गाड्दा स्थानीय रेडक्रस वा सुरक्षाकर्मीको अनिवार्य रेखदेखमा गर्नुपर्ने गरी मापदण्ड अपनाइएको छ । त्यसै बमोजिम ती देशमा काम गरिएको बताइएको छ ।
यसै क्रममा रेडक्रस वा सुरक्षाकर्मीले पनि सो शवबाट भाइरस अन्यत्र संक्रमण हुन नदिने गरी सुरक्षाका लागि आवश्यक सबै उपाय अनिवार्य अवलम्बन गरिरहेका छन् । अधिकांश पश्चिमी अफ्रिकी मुलुकमा प्राणघातक इबोला भाइरसले ब्यापकरूपमा सताएको थियो । इबोला भाइरसको उत्पत्ति गुयनामै भएको थियो र संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ संगठनका अनुसार यस रोगबाट संक्रमित भई मृत्यु हुनेको संख्या गुयनामा मात्र दुई हजार दुई सयभन्दा बढी रहेको छ । उता जापानी अनुसन्धानदाताको एक समूहले इबोला संक्रमणको परीक्षण र पहिचान बढीमा ११ मिनेटमा नै गर्न सकिने गरी पत्ता लगाएको जनाएका छन् । यसका कारण इबोलाको उपचार सजिलो भएको हो । अनुसन्धानदाताले लगातारको अनुसन्धानबाट चिकित्सा विज्ञान क्षेत्रको एक उपलब्धिका रूपमा यो सफलता प्राप्त भएको जानकारी केही दिन मात्र अघि दिएका हुन् । उनीहरूले यसका बिरामीमा गरिएको परीक्षणबाट यो तथ्य पत्ता लगाएको जनाएका छन् । यसअघि यही परीक्षणका लागि कम्तीमा पनि ९० मिनेट लाग्ने गरेकोमा हाल आएर त्यसमा ठूलो सफलता मिलेको उनीहरूको भनाइ छ ।

डिसेम्बर २०१३ : गुयनामा दुई वर्षे बालकमाथि इबोला लागेको आशंका । उक्त बालकको मृत्युपछि उनकी आमा, बहिनी र हजुरआमालाई समेत उस्तै समस्या देखियो, अततः सबैको मृत्यु ।
मार्च २०१४ : अफ्रिकी मुलुक गुयना, लाइबेरिया, सेनेगललगायतका थुप्रै पश्चिम अफ्रिकी मुलुकमा इबोलाको संक्रमण बढ्दो, संयुक्त राष्ट्रसंघद्वारा इबोलाका विषयमा पहिलोपटक ध्यानाकर्षण ।
अप्रिल २०१४ : अप्रिलको अन्त्यसँगै विश्व स्वास्थ्य संगठनद्वारा २ सय ३९ जनामा इबोलाको संक्रमण देखिएको रिर्पोट प्रस्तुत, एक सय ६० जनाको मृत्यु ।
मे २०१४ : विश्व स्वास्थ्य संगठनद्वारा तीन सय ८३ जनामा इबोलाको संक्रमण देखिएको रिर्पोट सार्वजनिक, मृत्यु हुनेको संख्या २ सय ११ पुग्यो ।
जुन २०१४ः मृतकको संख्या ४ सय ८१ पुग्यो ।
जुलाई २०१४ : मृतकको संख्या आठ सय ८७ पुग्यो ।
अगस्ट २०१४ : इबोलाको संक्रमण तीव्र, मृतकको १ हजार ८ सय ८ पुग्यो
सेप्टेम्बर २०१४ : विश्वका ठूला देशहरू इबोला नियन्त्रणमा सक्रिय, इबोला संक्रमण तीव्र, तीन हजार चार सय ३९ को मृत्यु
अक्टोबर : इबोलाका कारण विश्वव्यापी त्रास, मृतकको संख्या चार हजार नाघ्यो, १३ हजारभन्दा बढीमा इबोला संक्रमण, संक्रमितमध्ये अधिकांश अफ्रिकी नागरिक ।
डिसेम्बर २०१४ : सात हजारभन्दा बढीको मृत्यु, २० हजारभन्दा धेरैमा इबोला संक्रमण
जनवरी २०१५ : मृत्यु हुनेको संख्या आठ हजार नाघ्यो, २२ हजारभन्दा धेरैमा इबोला संक्रमण
फेब्रुअरी २०१५ : मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो, २३ हजारमा इबोला संक्रमण
मार्च २०१५ : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, २४ हजारभन्दा धेरैमा इबोला संक्रमण । लाइबेरियामा पहिलोपटक दुई साताभन्दा बढीको समयमा पहिलो संक्रमित फेला
अप्रिल २०१५ : २५ हजारभन्दा धेरै संक्रमित, मृत्यु हुनेको संख्या १० हजार ५ सय ।

प्रतिक्रिया