दिल्ली । भारतमा आतंकवादी हमला हुनसक्ने आशंकासहित सुरक्षा सतर्कता उच्च पारिएको छ । आक्रमणको सूचनाको आधारमा सुरक्षा सतर्कता अपनाइएको हो । भारतमा एक पाकिस्तानी आतंकवादी समूहले आक्रमण गर्ने आशंकासहितको सूचना बाहिर आएको भारतीय गुप्तचर निकायले जनाएको छ । सोही सूचनाको आधारमा भारतमा यस्तो सुरक्षा सतर्कता अपनाइएको एक समाचारमा जनाइएको छ । यस्तो सतर्कतासम्बन्धी सूचना विशेषगरी भारतीय सहर मुम्बईमा जारी गरिएको छ । पाकिस्तानी आतंकवादी समूह लस्कर ए तोएबाको हमलाको सूचना भारतीय गुप्तचर निकायले पाएको पनि सो समाचारमा उल्लेख गरिएको छ ।
उक्त सूचना स्रोतले भारतीय सहर मुम्बईमा विशेषगरी सो समूहले होटल, रेलमार्ग वा अरू कुनै पनि सार्वजनिक स्थलमा यस्तो हमलाको योजना बनाइरहेको पाइएको बताएको छ । सन् २००८ मा पनि सोही समूहको संयोजनमा मुम्बईको एक होटलमा यस्तो हमला भएको थियो । सो हमलामा परी दर्जनौा व्यक्ति हताहत भएका थिए । त्यस्तै प्रकारको हमला यसपटक पनि हुनसक्ने भन्दै गुप्तचर निकायले दिएको सूचनाको आधारमा भारतीय सुरक्षा निकायले मुम्बईमा विशेषगरी यस्तो सूचना जारी गरेको हो । मुम्बईपछि सो सतर्कताको सूचना भारतका सबैजसो राज्यमा जारी गरिएको मंगलबार अपराह्नको एक समाचारमा भारतीय अधिकारीले जनाएका छन् ।
पाकिस्तानी जेलमा रहेका लस्कर ए तोएबाका एकजना आतंकवादी नेता जाकिर उर रहमान लख्बीलाई पाकिस्तानी सरकारले रिहाइ गरेपछि यस्तो सूचना भारतीय अधिकारीले पाएको जनाएका छन् । उनलाई सन् २००८ मा भारतीय सहर मुम्बईमा गरिएको हमलामा संलग्न भएको अभियोगमा सन् २००९ मा पक्राउ गरिएको थियो । सो आक्रमणमा परी १७० जनाको ज्यान गएको थियो । उनलाई मुम्बई हमलाको एक प्रमुख सूत्राधारका रूपमा कारबाही गरिनुपर्ने माग भारतले गर्दै आएको छ ।
प्रतिक्रिया