‘छलफलमा त बस्नुपर्‍यो नि !’

Sushil-Koirala-Rukumरुकुम, १ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले संविधानले विकासको नयाँ ढोका खोल्ने बताएका छन् ।

रुकुमको दुर्गम तकसेरा गाविसमा आयोजना गरिएको आदिवासी जनजाति कला सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले अबको युग विकासको युग भएको बताएका हुन् ।

नयाँ संविधान जारी भएसँगै विकासले गति लिने र यस अभियानका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने उनले बताए ।

राणा शासन, पञ्चायती व्यवस्था तथा राज संस्था ढलिसकेको अवस्थामा दलहरुसामु लडाईं झगडा होइन विकास मुख्य एजेन्डा बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

‘तपाईं हामी केका लागि र कोसँग लडाईं झगडा गर्ने हो ?’, प्रधानमन्त्री कोइरालाले भने, ‘हामी सबै एक भएर नेपालको उन्नति विकासका लागि लाग्न जरुरी छ ।’

अर्को एक प्रसङ्गमा प्रधानमन्त्री कोइरालाले समयमै संविधान आउने विश्वास दिलाए । संविधान आओस् भन्ने चाहना सबैको रहेको बताउँदै उनले त्यसका लागि योगदान गर्न राजनीतिक दलहरुलाई आह्वान गरे ।

प्रधानमन्त्री कोइरालाले भने, ‘सहमतिमा संविधान निर्माण गर्ने त तपार्इंहरुले भन्नुहुन्छ । त्यसका लागि छलफलमा त बस्नुपर्‍यो नि !’

प्रतिक्रिया