ब्राजिली राष्ट्रपतिको अमेरिका भ्रमण तय

brazilरियोडिजेनेरियो । ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफ यस वर्ष अमेरिका भ्रमण गर्ने जानकारी अमेरिकी राष्ट्रपति बाराक ओबामाले गराएका छन् । दुई वर्षअघि नै उनी अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भए पनि ब्राजिलको हितविपरीत अमेरिकाले गुप्तचर परिचालन कार्यक्रम (स्पाइ प्रोग्राम) अघि सारेकाले उनले सांकेतिक विरोधस्वरूप उक्त भ्रमण रद्द गरेकी थिइन् ।

सन् २०१३ को हेमन्त ऋतुतिर दिल्माको अमेरिका भ्रमण कार्यक्रम तोकिएकामा यसै बखत ब्राजिल सरकार र जनतालाई लक्षित गरी अमेरिकाले गुप्तचरी गरी अभियान थालेको थियो । यसै बखत ब्राजिलका राष्ट्रपति सूचना तथा सञ्चार संयन्त्रमा अमेरिकी राष्ट्रिय सुरक्षा निकायले गडबडी पैदा गरिदिई कम्प्युटर सञ्जालमासमेत धक्का पर्न गएको (ह्याकिङ्ग भएको) थियो ।

त्यसैका कारण ब्राजिल सरकारद्वारा सञ्चालित इन्धन उत्पादन कम्पनी तहसनहस भएको र ब्राजिलको गेटवे हुँदै सञ्चालित हुने करोडौँ टेलिफोन कल र इमेल आदानप्रदान सेवासमेत प्रभावित हुन गई अर्बौं डलरको क्षति पुग्न गएको तथ्य सञ्चार माध्यमले बाहिर ल्याएको थियो ।

यद्यपि, अमेरिकी राष्ट्रपतिको औपचारिक निम्तालाई स्वीकार गर्दै आफू अमेरिका भ्रमणमा जाने कुरामा दिल्माले हर्ष प्रकट गरेकी थिइन् । आगामी जुन ३० तारिखका उनी अमेरिका जाने कार्यक्रम छ । (एजेन्सी)

प्रतिक्रिया