कारबाहीमा १२ तालिवान मारिए

afgan_talibanकाबुल, १ वैशाख । अफगानिस्तानमा प्रहरी र सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १२ जना तालिवान मारिएका छन् ।

पछिल्लो २४ घन्टामा देशको विभिन्न भागमा तालिवानविरुद्ध जारी राखिएको कारबाहीमा परी ती तालिवान हतियारधारी मारिएका अफगानिस्तानको गृह मन्त्रालयद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

तालिवानका विरुद्धमा त्यहाँका सुरक्षाबलले अफगानिस्तानको फर्याब सारीपुल, जोवजान, कान्दाहार उरुजगान, लोगार कापिसा, खोस्त, पाक्टिया र हेलमान्ड प्रान्तमा प्रहरीले जारी राखेको कारबाहीमा परी १२ तालिवान मारिएका, पाँच घाइते भएका र दुई पक्राउ परेका सो विज्ञप्तिमा जनाइएको छ ।

यस विज्ञप्तिमा सुरक्षाबल तर्फ भने कुनै हताहत नभएको जनाइएको छ । अफगान सरकारसँग युद्ध गरिरहेका तालिवानी आतंककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
सन् २०१४ को अन्त्यसँगै अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसकेको छ । त्यसपछि अफगानिस्तानकै राष्ट्रिय सुरक्षा निकायले तालिवानविरुद्धको कारबाही जारी राखेका हुन् ।

नेटो सैनिक स्वदेश फर्किएपछि केही दिनसम्म अफगानिस्तानमा शान्तजस्तो देखिए पनि पछिल्ला केही दिनयता भने तालिवानहरूले आक्रमण जारी राखेका छन् ।

प्रतिक्रिया