काठमाडौं, १, वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको विपक्षी ३० दलीय मोर्चामा खटपट बढेपछि मधेस केन्द्रित दलले छुट्टै आन्दोलनको तयारी थालेका छन् ।
विजयकुमार गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकबाहेक मधेसी दलले औचित्य सकिएको भन्दै मोर्चाको बैठकमा नजाने घोषणासमेत गरेका छन् । उनीहरूले मोर्चाले आन्दोलनबाट मधेसका माग पूरा गर्न नसक्ने भन्दै छुट्टै आन्दोलनको तयारी थालेका हुन् ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण चाँडै मधेसी मोर्चाको बैठक बसेर कसरी अघि बढ्ने भन्ने टुंगो लगाउने बताउँछन् । ‘हाम्रा माग पूरा गराउन हामीले आन्दोलनबाहेक विकल्प देखेका छैनौँ,’ नेता कर्णले सौर्यसँग भने, ‘३० दलीय मोर्चाले आन्दोलन गर्न नसक्ने हाम्रो निष्कर्ष छ ।’
यसअघि नै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाको औचित्य समाप्त भएको घोषणा गरिसकेका छन् । राजधानीमा आइतबार आयोजित एक साक्षात्कार कार्यक्रममा अध्यक्ष महतोले अब मोर्चाको बैठकमा मधेसी दल नजाने घोषणा गरेका थिए ।
मोर्चा संयोजक दाहालले शुक्रबार आह्वान गरेको बैठक मधेसी दलले बहिष्कार गर्ने भएपछि अनिश्चितकालका लागि रोकिएको छ । मोर्चाले केही दिनअघि आह्वान गरेको तीन दिने आमहडताल एक दिनको बन्दपछि मधेसी दलका साथै अधिकांश दलको असहमतिबीच दाहालले फिर्ता लिने निर्णय गराउँदा विवाद चुलिएको हो ।
मधेसी जनअधिकार फोरम, फोरम गणतान्त्रिक, तमलोपा, संघीय समाजवादी, संघीय लिम्बुवानलगायत जातीय तथा क्षेत्रीय पार्टी आन्दोलनबाटै माग पूरा गराउनुपर्ने पक्षमा उभिएका थिए । एमाओवादी अध्यक्ष दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको जोडबलमा आमहडतालका बाँकी कार्यक्रम फिर्ता गरिएको थियो ।
आमहडताल फिर्तापछि फोरम अध्यक्ष उपेन्द्र यादवले विज्ञप्तिमार्फत कडा रूपमा विरोध जनाएका थिए । उनले विराटनगरस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहाललाई ‘धोकेबाज र सत्तालोलुप’को संज्ञासमेत दिएका थिए । सत्ताको लोभमा फसेर दाहालले आमहडताललाई बीचमै तुहाएको पनि उनको जिकिर थियो । संघीय लिम्बुवान पार्टीले पनि आमहडताल फिर्ता भएकोमा आश्चर्य र दु:ख प्रकट गर्यो ।
फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव मोर्चाभित्रको अन्तरविरोधले नयाँ रूप लिन सक्ने बताउँछन् । एमाओवादी र मधेसी दलबीच सहकार्य टुट्न सक्ने उनको ठम्याइ छ ।
मधेसी दलले आफ्ना माग मोर्चाबाट पूरा नहुने भन्दै विकल्प खोज्न थालेका हुन् । उनीहरूले मधेसका मुद्दा एमाओवादीले उठाउन नचाहिरहेको आरोपसमेत लगाउने गरेका छन् । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी एमाओवादीले मधेसी दललाई बीचमै छाडेर कांग्रेस–एमालेसँग सम्झौता गर्ला कि भन्ने शंका सुनाउँछन् ।
दाहाल भने, ‘मोर्चामा बढेको अन्तरविरोध कम गर्न कस्सिएर लागिपरेका छन् ।’ मोर्चाका प्राय: नेतालाई उनले टेलिफोनबाट मनाउने प्रयास थालेका छन् ।
दाहालका स्वकीय सचिव चुडामणि खड्काले अब मोर्चाको बैठक बसेर सबै कुराको हल गर्ने पहल भइरहेको बताए । ‘मोर्चामा केही अन्तरविरोध बढेको छ,’ दाहालका स्वकीय सचिव खड्काले भने, ‘अब मोर्चाको बैठक बसेर समीक्षापछि सबै अन्तरविरोध साम्य हुनेछ ।’
संविधान निर्माण सहमतिका आधारमा हुनुपर्ने माग गर्दै आन्दोलित मोर्चाले चैत २४ देखि तीन दिन आमहडतालको घोषणा गरेको थियो । आमहडतालका कार्यक्रम फिर्ता लिइए पनि आन्दोलन यथावत रहेको मोर्चाका एक नेताले बताए ।
प्रतिक्रिया