लहान, २९ चैत । सप्तरीको बसबिट्टी गाविसका सचिव नवीनकुमार राई आज कार्यालयभित्रै मृत फेला परेको छ ।
बिहान कार्यालय पुगेका गाविस कार्यालयका प्राविधिक सहायकले सचिव राईलाई कार्यालयभित्रै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
राति कार्यालयमै सुतेका २९ वर्षीय सचिव राईको के कारणले मृत्यु भएको भन्नेबारे खुल्न सकेको छैन । उनको अत्यधिक मादकपदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भीक आशंका छ ।
राईले कार्यालयभित्र बान्ता गरेका छन् । उनको शरीरमा कुनै किसिमको चोटपटक देखिएको छैन ।
खोटाङको विजयखर्क गाविस–८ निवासी सचिव राई विगत एक डेढ वर्षदेखि सो कार्यालयमा कार्यरत रहेको जिल्ला विकास समिति सप्तरीले जनाएको छ ।
मृतक सचिवको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया