अमेरिका र क्युबाबीच आधा शताब्दीपछि वार्ता

US and cuba talks

पानामा सिटी, २७ चैत । दशकौंंपछि अमेरिका र क्युबाबीच वार्ता भएको छ । अमेरिकी विदेशमन्त्री जोन केरी र उनका क्युबाली समकक्षी ब्रुनो रेड्रिगेजबीच बिहीबार पानामा सिटीमा वार्ता भएको हो ।

सन् १९६१ पछि यी दुई देशबीच पहिलोपटक यो स्तरमा वार्ता भएको जनाइएको छ । उनीहरुबीच बन्द कोठामा वार्ता भएको हो । यस वार्तालाई कम्तीमा पनि साढे ५ दशकपछि पहिलोपटक भएको उच्चस्तीय वार्ताका रुपमा प्रचार गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोको पनि आमने–सामने हुने भनिएको एक दिनअघि मात्र यी दुई देशका विदेशमन्त्रीबीच वार्ता भएको बताइएको छ । शुक्रबारदेखि २ दिन पानामामा आयोजना हुन लागेको सातौँ अमेरिकी सम्मेलनका क्रममा दुवै विदेशमन्त्री त्यहाँ पुगेका छन् । उनीहरुबीच भएको कुराकानीबारे भने केही खुलाइएको छैन । यो घटनालाई विदेशी सञ्चारमाध्यमले शीतयुद्धकालीन अवस्थापछिको दुर्लभ घटनाका रूपमा प्रचार गरेका छन् ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति ओबामा र उनका क्युबाली समकक्षी क्यास्ट्रोको बसाइको व्यवस्थापन आमने–सामने पर्ने गरी मिलाइएको छ । यसअघिका सम्मेलनमा भने यस्तो संयोग पनि मिलाइएको थिएन ।

सन् १९४५ मा विश्वयुद्धको अन्त्यपछि सुरु भएको शीतयुद्धदेखि नै यी दुई देशबीच शत्रुतापूर्ण सम्बन्ध रही आएको छ । त्यसकारण दुई देशबीचको यो वार्तालाई पनि विश्वका सञ्चारले नै ऐतिहासिक भनी प्रचार गरेका हुन् ।
गत जनवरीमा यी दुई देशबीच सामान्य वार्ता भएको थियो । तर, त्यस समय पहल गर्ने भनिए पनि यी दुई देशले आफ्ना दूतावासको स्थापना भने गरेका छैनन् ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले क्युबाको अवस्थाबारे अध्ययन गरेको थियो । सो अध्ययनपछि क्युबालाई आतंकवादी सूचीबाट हटाउन ह्वाइट हाउसले सुझाएको छ । अहिले नै सो सूचीबाट अमेरिकाले क्युबालाई हटाउने वा नहटाउनेबारे केही बताएको छैन ।

यसै सम्मेलनकै समयमा अमेरिकाले क्युबालाई सो सूचीबाट हटायो भने यसलाई ऐतिहासिक उपलब्धिका रुपमा लिनुपर्ने विशेषज्ञको भनाइ छ । कतिपयले भने यति चाँडै अमेरिकाले सो कदम लिन नसक्ने बताएका छन् । यस विषयको निर्णय अमेरिकी राष्ट्रपतिले नै गर्नुपर्ने हुन्छ । तापनि, त्यस विषयमा खासै केही प्रतिक्रिया ओबामाले दिएका छैनन् ।

ह्वाइट हाउसले गरेको सो अनुसन्धान प्रतिवेदन अमेरिकी संसदमा पेस गर्नुपर्ने हुन्छ र अमेरिकी कङ्ग्रेसले त्यसमाथिको पुनरावलोकनका लागि ४५ दिनसम्म लिन सक्छ ।

अमेरिकाले क्युबालाई सन् १९८२ मा आतंककारीको सूचीमा राखेको थियो । सो समयपछि अमेरिकाले उक्त सूचीमा संशोधन गरेको छैन । यही सूचीले नै यी दुई देशबीचको कूटनीतिक सम्बधमा दरार ल्याएको हो । यसैका कारणले नै सम्बन्ध पुनःस्पनामा कुनै प्रगति हुन सकिरहेको छैन ।

प्रतिक्रिया