बङ्गलादेशमा भारतका विद्रोहीलाई आजीवन कारावास

supremecourt banladeshढाका, २६ चैत । बङ्गलादेशको उत्तरी भागमा रहेको एक अदालतले दुई विद्रोही राजन चौधरी अर्थात मेजर राजन तथा प्रोदिप मरकले सीमापारि असाममा आक्रमण गर्न बङ्गलादेशको भूमि प्रयोग गरेको भनी उनीहरूलाई आजीवन कारावासको सजाय तोकेको जानकारी एक सरकारीले वकिलले दिएका छन् ।

किशोरगञ्ज नगरमा रहेको जिल्ला अदालतमा राजन तथा मरकलाई उक्त सजायँ तोकिएको जानकारी दिइएको छ । उनीहरूले भारतको उत्तरपूर्वी भागमा अवस्थित असाम राज्यमा पृथकतावादी आन्दोलन सञ्चालन गरेको बताइएको छ । यस मुद्दामा सुनुवाइ हुँदा अदालतमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।

प्रमुख सरकारी वकिल साह अजिजुल हकले न्यायाधीशले दोषी प्रमाणित गर्दा दुबै व्यक्ति अदालतमा उपस्थित भएको र उनीहरूलाई मुलुकको हतियार तथा आतङ्कवादविरोधी कानुन अनुसार सजाय तोकिएको जानकारी दिए ।

यी दुई व्यक्तिलाई सन् २०१० मा बङ्गलादेशमा पक्राउ गरिएको थियो । युनाइटेड लिबरेसन फ्रन्ट अफ आसोम (उल्फा) को सदस्यको रूपमा भारतमा आक्रमण गर्ने योजना बनाइरहेको समयमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।

सरकारी अधिवक्ताले यी दुबै उल्फाका वरिष्ठ अधिकारी भएको र पक्राउ पर्नु अगाडि उनीहरूले भारतको असाम राज्यमा छापामार युद्ध सञ्चालन गर्न बङ्गलादेशको भूमि प्रयोग गरिरहेको जानकारी दिए । उनले उनीहरूलाई हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरिएको जानकारी दिए ।

उल्फाका महासचिवलाई सन् १९९७ मा पक्राउ गरिएपछि बङ्गलादेशले भारतीय विद्रोहीलाई दोषी प्रमाणित गरी सजाय दिएको यो दोस्रो पटक हो ।

भारतको बङ्गलादेशसँग चार हजार ९६ किलोमिटर लामो सीमा रहेको छ र नयाँ दिल्लीले तनावग्रस्त उत्तरपूर्वी भागका पृथकतावादी समूहले बङ्गलादेशमा आफ्नो शिविर स्थापना गरेको आरोप लगाउने गरेको छ ।

प्रतिक्रिया