लन्डन, २५ चैत । लन्डनको हिराको व्यापार हुने क्षेत्रमा चोरले ३० करोड अमेरिकी डलर बराबरको गहना सेँध लगाएर चोरेको अनुमान आमसञ्चारले बुधबार गरेका छन् ।
इस्टरको लामो बिदाका समयमा धेरै गहना व्यापारीले सुरक्षाका लागि आफ्नो सम्पत्ति राख्ने ह्याटन गार्डेनको सुरक्षित डिपोजिट दराज तोडेर चोरहरूले ७० वटा बाकसबाट गहना चोरेको जानकारी प्रहरीले दिएका छन् ।
यसअघि उक्त सुरक्षितस्थलका ३०० बाकसका गहना चोरी भएको अनुमान गरिएको थियो ।
शुक्रबार बैङ्क बिदाको दिन एक सुरक्षाकर्मीले सतर्कताको एक आवाज सुनेका थिए । उक्त दिन गहना पसलहरू पनि बन्द थिए । यी सुरक्षाकर्मीले थप कुनै प्रकारको नकारात्मक सङ्केत फेला पार्न नसकेको समाचारमा उल्लेख गरिएको छ ।
ह्याटन गार्डेनका कर्मचारीले करिब २० करोड बेलायती पाउन्ड बराबरको हिरा, गहना तथा नगद चोरी भएको जानकारी दिए भनी सन समाचारपत्रले उद्धरण गरेको छ ।
ह्याटन गार्डेन लन्डनको गहना उद्योगको केन्द्र हो र उन्नाइसौँ शताब्दीदेखि सयौँ पसल तथा गहना उत्पादकले आफ्नो कार्यालय खोलेका छन् । डी बियर्स हिरा कम्पनीको पनि यहाँ कार्यालय रहेको छ ।
एक गहनाव्यापारी माइकल मिलरले आफूले बीमा नगरेको ५० हजार पाउन्ड बराबरको गहना तथा घडी गुमाएको हुनसक्ने अनुमान गरे ।
पासओभरको समयमा यस क्षेत्रका यहुदी हिरा कामदार तथा थोकबिक्रेता बिदामा बसेका थिए । मिलरले आफ्नो गहना चोरी भएको कुरा बिदापछि मात्र थाहा पाए ।
उनले यस सुरक्षित दराजसम्म पुग्न पहिले दुई ढोका खोल्नु पर्ने र त्यसपछि पनि ताल्चा प्रणाली भएर अगाडि बढ्नुपर्ने बताए । यसपछि पनि दुई ढोका खोलेर मात्र यस दराजभित्र पस्न सकिने उनले उल्लेख गरे ।
उनले आफूसँग घडीको सङ्कलन भएको र आफ्नो छोरालाई दिन चाहेको बताउँदै ती अपूरणीय क्षति भएको बताए ।
अर्का व्यापारी नोर्मान बिनले आफू स्तब्ध भएको र आफूले निकै ठूलो क्षति ब्यहोरेको बताए ।
समाचारमा चोरहरू सोही भवनमा लुकेको र कर्मचारीहरू घर गएपछि डोरीको सहयोगमा उक्त दराज नजिकै पुगी त्यसलाई फोडेको अनुमान गरिएको छ ।
लन्डनमा यस प्रकारको लुट तथा सशस्त्र लुटका घटना अनुसन्धान गर्ने फ्लाइङ क्वाडका सदस्यले यस घटनामा अनुसन्धन गरिरहेको जानकारी दिइएको छ ।
यस समूहका पूर्व कमान्डर राय रामले यो पुरानै प्रकारको चोरी भएको बीबीसीलाई बताए ।
उनले यस चोरीमा २० करोड पाउन्ड भन्दा बढी सम्पत्ति गुमेकोमा आफूलाई आश्चर्य नलागेको बताए ।
उनले यस चोरीमा गुमेको वास्तविक मूल्य कहिल्यै पनि थाहा नहुने र यस सुरक्षित दराजबाट गहनाजस्ता कानुनी सम्पत्ति चोरिए पनि त्यसको साथमा हतियार तथा लागु पदार्थ पनि चोरिएको हुनसक्ने अनुमान गरे ।
प्रतिक्रिया