वैशाख दोस्रो साता ‘झोला’को पुनः प्रदर्शन गरिने

Jhola Movieकाठमाडौं । सती प्रथाको विषयमा निर्माण गरिएको फिल्म ‘झोला’ पुनः सार्वजनिक प्रदर्शनमा आउने भएकोछ ।

फिल्मका निर्देशक यादव भट्टराईका अनुसार आगामी वैशाख ११ बाट फिल्म पुनः प्रदर्शनमा आउन लागेको हो ।

‘पहिलो रिलिजमा धेरै दर्शकले फिल्म हेर्न नपाएको गुनासो हामीमाझ आएको थियो, यसबाहेक पछिल्लो समयमा महिला हिंसाको घटना बढ्दै गएपछि त्यसविरुद्ध सशक्त आवाज उठाउन सहयोग मिलोस् भनेर पनि फिल्मलाई पुनः रिलिज गराउन लागेका हौं’, निर्देशक भट्टराईले भने ।

यो फिल्म गत माघ २४ मा पहिलो पटक अल नेपाल रिलिज भएको थियो । फिल्म हलमा एकपटक व्यावसायिक रुपमा रिलिज भएर पुनः अर्को पटक रिलिज हुन लागेको यो नै पहिलो पटक रहेको निर्देशक भट्टराईको दाबी छ ।

‘झोला’ले ‘सार्क फिल्म फेस्टिभल’, ‘वासिङ्टन वेस्ट फिल्म फेस्टिभल अमेरिका’, ‘गोवा इन्टरनेशनल फिल्म फेस्टिभल भारत’, ‘दिल्ली इन्टरनेशनल फिल्म फेस्टिभल भारत’, ‘डेनेभर ओमेन फिल्म फेस्टिभल कोलोराडो’लगायतका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको छ ।

‘झोला’की प्रमुख कलाकार गरिमा पन्तले यसै फिल्मका लागि ‘सार्क फिल्म फेस्टिभल’मा ‘उत्कृष्ठ नायिका’को अवार्ड जितेकी थिइन् ।

राज तिमिल्सिना, मालती शाह, सुशील शाह र रामगोपाल श्रेष्ठ निर्माता रहेको फिल्ममा देशभक्त खनाल, दीपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरीलगायतको अभिनय छ ।

प्रतिक्रिया