यमनबाट राष्ट्रसङ्घीय कर्मचारी फिर्ता लगियो

Un-flag-squareसाना, १५ चैत । द्वन्द्वग्रस्त देश यमनबाट संयुक्त राष्ट्रसङ्घले आफ्ना कर्मचारीलाई उद्वार गरी फिर्ता लगेको छ । राष्ट्रसङ्घले आफ्ना कर्मचारी त्यहाँबाट हटाएको एक समाचारमा जनाइएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार सो क्षेत्रमा विगतका केही दिनदेखि द्वन्द्व सुुरु भएको छ । सो द्वन्द्वका कारण त्यहाँबाट कयौँ देशले पनि आफ्ना नागरिकको उद्वार गरी स्वदेश फर्काएका छन् ।

यमनमा त्यहाँका हुथी विद्रोहीहरुले राष्ट्रपति अब्द्रब्हु मन्सुर हादीका विरुद्धमा आक्रमण गरेका थिए । सो आक्रमणपछि राष्ट्रपति हादी भागेर साउदी अरेबिया पुगेको समाचारमा जनाइएको छ ।

उता उनको पक्षमा केही दिनयतादेखि साउदी अरेबियाको सेनाले पनि यमनमा आक्रमण जारी राखेको छ । राष्ट्रपति हादीले त्यहाँ थप आक्रमणका लागि आग्रह गरेका छन् ।

राष्ट्रपति हादीले यमनमा हुथी सिया विद्रोहीका विरुद्धमा आक्रमण जारी राख्न साउदी अरेबियालाई आग्रह गरेका हुन् । यमनमा ती विद्रोहीले आत्मसमर्पण नगर्दासम्म आक्रमण गर्न उनले साउदी अरेबियालाई आग्रह गरे ।

यमनको दक्षिणी भागको प्रमुख नगर आदेनमा सिया विद्रोही तथा लडाकूबीच सङ्घर्ष जारी नै रहेको छ । सो सङ्घर्षमा परी शनिबारसम्ममा कम्तीमा पनि ६१ व्यक्तिको मृत्यु भएको जानकारी एक वरिष्ठ स्वास्थ्य अधिकारीले शनिबार दिएका छन् ।

तीन दिनदेखि जारी सो आक्रमणबाट कम्तीमा पनि ६१ व्यक्तिको मृत्यु भएको तथा २०३ व्यक्ति घाइते भएको जानकारी यमन सरकारले दिएको छ । आक्रमणका कारण भौतिक रुपमा पनि ठूलै क्षति भएको बताइएको छ ।

प्रतिक्रिया