काबुल, १० चैत । दक्षिणी अफगानिस्तानमा मङ्गलबार बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध गोली हानी बसमा यात्रा गरिरहेका कम्तीमा पनि १३ जना यात्रुको हत्या गरेको समाचार छ ।
दक्षिणी अफगानिस्तानको वार्दाक प्रान्तमा बसमा यात्रा गरिरहेका सर्वसाधारणलाई सो समूहले गोली प्रहार गरी हत्या गरेका हुन् ।
अधिकारीहरूले अफगानिस्तानमा सर्वसाधारणमाथि हुने गरेको आक्रमणको पछिल्लो शृङ्खलाका रुपमा यी सर्वसाधारण मारिएका जनाएका छन् ।
प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार बन्दुकधारीको समूहले मङ्गलबार बिहान बसमा हमला गरी त्यसमा रहेका यात्रुमध्ये कम्तीमा पनि १३ जनाको ज्यान लिएका हुन् ।
बस दक्षिणी सहर कान्दाहारतर्फ जाँदै गरेको थियो । सोही समयमा गुडिरहेको बसलाई अकस्मात् रोकी बन्दुकधारीले सो हमला गरेका थिए ।
बन्दुकधारीले एकाएक बसलाई नियन्त्रणमा लिई सो हमला गरेका थिए । उनीहरूले छानीछानी ती यात्रुमाथि गोली बर्साएको समाचारमा जनाइएको छ ।
कान्दाहार प्रान्तको छिमेकी प्रान्त घाज्नीका उपगभर्नर मोहम्मद अलिले बन्दुकधारीले उक्त बसमा रहेका यात्रुलाई छानेर मारेको जानकारी दिएका छन् ।
अधिकारीहरूले उक्त सवारीमा मारिएका नागरिकको पहिचान हुन नसकेको बताएका छन् । सो आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा पनि केही थाहा हुन नसकेको पनि अधिकारीहरूको भनाइ छ ।
साथै त्यस हत्याको जिम्मेवारी पनि कसैले लिएको छैन । प्रायः यस्ता अपराधका घटनामा अफगानी तालिवानहरूको हात रहने भएकाले प्रहरीले उनीहरूकै हात रहेको अनुमान गरेको छ ।
तर तालिवानहरूले भने त्यसबारेमा केही बताएका छैनन् । उनीहरूको कुनै प्रतिक्रिया आएको छैन ।
नागरिकहरूमाथि यस्तो हमला प्रायः त्यहाँ जातीय द्वन्द्वका कारण हुने गर्दछ । जातीय द्वन्द्वका कारण एकले अर्काे जातिमाथि हमला गरी हत्या गर्ने गर्छन् ।
प्रतिक्रिया