विराटनगरमा हैजाको जोखिम

biratnagarमोरङ, ७ चैत । दिनहुँ फोहर उठाएर उपमहानगरवासीलाई हैजाबाट बचाउने विराटनगरका मरिक आफैँ भने व्यवस्थित शौच गर्न र शुद्ध खानेपानी पिउनबाट वञ्चित छन् ।

विराटनगर उपमहानगरपालिकामा वर्षौंदेखि सफाइ मजदुरका रुपमा काम गर्दै आएका मरिक समुदायका एक सयभन्दा बढी मानिसले नगरभरिको फोहर सफा गरे पनि आफूहरु भने अझै व्यवस्थित शौच गर्न र शुद्ध खानेपानी पिउनबाट वञ्चित भएका हुन् ।

विराटनगर उपमहानगरपालिका–१५ सरौचियामा बस्दै आएका मरिक बस्तीमा न त, पिउने पानीको सार्वजनिक धारा छ, न त शौच गर्नका लागि सार्वजनिक शौचालय नै ।

नगरमा फोहर सङ्कलन र विसर्जन कार्यमा खटिँदै आएका करिब ७० घर परिवार मरिक जाति बसोवास गर्ने उक्त बस्तीमा नगरपालिकाले पिउने पानीको धारा जडान गर्न र शौचालय निर्माण गरिदिन अझैसम्म चासो दिएको छैन ।

शुद्ध पिउने पानीको धारा नहुँदा मरिकहरु ट्युबवेलको धमिलो पानी खान बाध्य छन् । नजिकै गहिरो फोहर पोखरी रहेको र वरिपरि फोहर धेरै भएकाले ट्युबवेलबाट सधैँ धमिलो र लेदो पानी आउने गर्दछ ।

अर्को उपाय नभएकाले सबैले यस्तै पानी पिउँदै आएको अगुवा वासुदेव मरिकले बताए ।

बस्तीमा शौचालय निर्माण गरिदिन र खानेपानीको धारा जडान गरिदिन पटक–पटक नगरपालिकालाई भन्दै आए पनि विभिन्न कारण देखाएर बेवास्ता गर्ने गरेको युवा प्रदीप मरिकको भनाइ छ ।

मरिक बस्तीमा शौचालय नहुँदा गाउँले खुला दिसापिसाव गर्दैआएका छन् । उनले फोहर पानी पिउनुपर्ने र खुला दिसापिसाब गर्नुपर्ने बाध्यताले गर्दा नगरलाई हैजामुक्त बनाउने आफूहरु सधैँ हैजा रोगको जोखिममा रहेको बताए ।

पहिले बजार क्षेत्रमा बस्दै आएका सफाइ मजदुरका रुपमा काम गर्ने मरिकहरुलाई नगरपालिकाले ३० वर्ष पहिले सरौचियामा लगेर राखेको थियो ।

प्रतिक्रिया