अख्तियारको फन्दामा जिशिअहरू

काठमाडौं २८ बैशाख । विभिन्न शीर्षकमा विद्यालयहरूमा सरकारबाट निकाशा भएको अनुदान रकममा ब्यापक अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले सप्तरीका तत्कालीन जिशिअहरू केदार तिवारी, शत्रुघन यादव, दोलराज पाण्डे, लेखापाल गणेश कटुवाल, स्रोतव्यक्ति सुनिलकुमार प्रसाद, सव ईन्जिनियरहरू योगेशकुमार साह, उपेन्द्रप्रसाद साह तथा भुपेन्द्रप्रसाद साहसहित विद्यालयका निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान, जिशिख सप्तरीका लेखा अधिकृत कामेश्वर साह, सव ईन्जिनियर विनोदकुमार सिंह, कार्यक्रम अधिकृत विजयकुमार मण्डल, श्रोतव्यक्ति राविन्द्रप्रसाद यादव, विद्यालयका तत्कालीन प्रअ चन्द्रदेवकुमार यादवलाई मुद्दा दायर गरेको हो । अन्य विद्यालयमा भएको भ्रष्टाचारको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
सप्तरीको गम्हरिया ४ पट्टिप्रवाहस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शीर्षकमा निकासा भएको रकम कामै नगरी हिनामिना गरेको आरोपमा अख्तियारले  सप्तरीका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०६४–६५ देखि २०६८–६९ सम्म विभिन्न शीर्षकमा निकासा भएको रकम भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ । आयोगमा प्राप्त उजुरीहरू सम्बन्धमा आयोगबाट गम्भिररूपले अनुसन्धान हुँदा अनियमितता देखिएको आयोगले जनाएको छ ।
विद्यालयमा भौतिक संरचना निर्माण र मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रवृत्ति तथा खाजा वितरणको लागि निकासा भएको ४९ लाख ५१ हजार रूपैयाँ हिनामिना भएको अख्तियारको दाबी छ । भौतिक संरचना निर्माण, मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रवृत्ति, खाजा वितरणजस्ता शीर्षकहरूमा निकासा भएको रकमबाट तदनुरपको कुनै काम नगरी सरकारी अनुदान रकम हिनामिना गरी अनियमिता एवं भ्रष्टाचार गरेको आरोप आयोगको छ ।

प्रतिक्रिया