“गृहमन्त्री हुन पाए आफ्नालाई जागिर ख्वाइन्थ्यो”

कलाकार उत्तम केसीले २०३४ सालमा रंगमञ्चबाट अभिनय यात्रा सुरु गरे । रजतपटमा चाहिँ चलचित्र पुकारमार्फत डेब्यु गरेका हुन् । यो यात्रामा अभिनय गरेका ९५ भन्दा बढी चलचित्रले उनलाई स्थापित नाम बनाइसकेका छन् । चलचित्रसँगै टेलिचलचित्रमा पनि छाइरहन्छन् । टेलिचलचित्र जीवनचक्रमा ‘चुइँचुइँ पारेर’ भन्ने थेगोका कारण सम्झने पनि धेरै छन् उनलाई ।
३४ वर्षदेखि अभिनयमा छाइरहेका उनी यो क्षेत्रमा नलागेका भए के बन्थे होलान् ? भने- ‘नत्र त देशको प्रशासनिक क्षेत्रमा लागेर सरकारी जागिरे हुन्थेँ होला’ । प्रशासनिक कर्मचारी नभएर गृहमन्त्री नै भइदिएका भए नि ? प्रश्न खस्न नपाउँदै उत्तर आयो- ओहो ! गृहमन्त्रीजस्तो पद मन नपर्ने त कुरै छैन नि ।’ भ्रष्टाचारचाहिँ कत्तिको गर्दा हुन् त ? ‘हेर्नुस् अरूले गर्ने र मैले गरेको भ्रष्टाचारमा अलिकतिचाहिँ फरक हुन्थ्यो नै । अरूले देखादेखी गर्छन् भने मचाहिँ अलि नदेख्ने किसिमले गर्थें होला । भ्रष्टाचार गर्ने धनका लागि हो ।
मन कसलाई हुँदैन र ? नेताले किन यत्तिकै मरिहत्ते गरेका होलान् र ?’ मन्त्री वा हाकिमलाई कसैको काम गरिदिएबापत खुसुक्क खल्तीमा दाम हालिदिन्छन् भन्ने पनि सुनिन्छ बेलाबखत । त्यो अनुभूतिमा केसीले चाहिँ यस्तो व्यंग्य कल्पना गरे- ‘ए, कहाँबाट आएछ ! जे भए नि’ कामको दामचाहिँ पाइएछ भनेर खुसी नै हुन्थेँ होला । आफूले जबर्जस्ती देऊ भनेको होइन
क्यारे । खल्तीमा घुसारिदिनेका अगाडि कसको के लाग्छ र ?’
मन्त्रीहरू पदमा हुन्जेल आफन्तलाई जागिर लगाउन मरिहत्ते गर्छन् रे भन्ने पनि सुनिन्छ नि ? उत्तम जिस्किए- ‘सबैले गर्ने नै आफ्ना नातेदारलाई नै हो नि । यो पापी दुनियाँमा सबैले पहिला आफ्ना लागि अनि मात्र अरूका लागि गर्ने हो । आफ्ना मान्छेलाई राम्रो-राम्रो ठाउँमा सरुवा गराइन्थ्यो नि ! आफ्नो मान्छेलाई पठाइसकेपछि खाली भएको ठाउँमा मात्र अलि योग्य मान्छे खोजेर सरुवा, बढुवा गरिन्थ्यो होला ।’ देशमा देखिँदै गरेको राजनीतितन्त्रमा डुबेर व्यंग्य गरिरहेका केसीले वास्तविक गृहमन्त्रीलाई सुझाब दिन पनि भ्याए- ‘देशमा शान्ति अमन-चयन पटक्कै छैन । अराजक गतिविधि सञ्चालन भइरहेको छ । शान्ति र संविधान बनाउनमा गृहमन्त्रीले पनि ध्यान दिनुपर्‍यो । पदमा बसेर मात्रै भएन, प्रशासनिक क्षेत्रलाई मर्यादित बनाउनुपर्‍यो । भ्रष्टाचार घटाउनुपर्‍यो ।’ उनलाई अहिलेसम्म मन परेका कुनै गृहमन्त्री पनि छन् कि ? सुनाए- ‘केपी ओली, उहाँले चाहिँ केही गर्न सकेजस्तो लागेको थियो ।’

प्रस्तुतिः विशाल

प्रतिक्रिया