काठमाडौं, ६ चैत । सरकारले दातृ निकायबाट वैदेशिक सहयोग प्राप्त गर्नका लागि विभिन्न निकायलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरणका लागि विश्व बैंकबाट नौ अर्ब ८५ करोड र सिँचाइ तथा जलस्रोत व्यवस्थापनका लागि चार अर्ब ८८ करोड रुपियाँ सहायता लिन सम्बन्धित निकायलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिए ।
बैठकले अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट किसानका लागि उन्नत बीउबिजनमा सहयोगका लागि ९८ करोड र स्थानीय सडक सुधार कार्यक्रमका लागि स्विस सरकारबाट दुई अर्ब १२ करोड रुपियाँ वैदेशिक सहायता प्राप्त गर्न पनि सम्बन्धित निकायलाई अख्तियारी प्रदान गरेको छ । बैठकले ऊर्जा, सिँचाइ, भौतिक योजना तथा पूर्वाधार, सहरी विकास, शिक्षा, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या र भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा नियमित रूपमा लोकसेवा आयोगको प्रक्रिया पूरा गरेका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको बढुवा गर्ने निर्णयसमेत गरिएको सूचना तथा सञ्चार मन्त्री डा रिजालले जानकारी दिए ।
बैठकले बेरुजु फस्र्याेटको काम अझै बाँकी रहेकाले तदारुकताका साथ सो कार्य सम्पन्न गर्न साबिकको काममा रहेका दयाराम शर्माको करार अवधि दुई वर्ष थपेको छ ।
प्रतिक्रिया