जागरण अभियानको तालीकामा हेरेफेर

काठमाडौं, १ चैत । नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले चैतको पहिलो साताबाट सुरु गर्ने भनेको मेची–महाकाली जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समय तालिकामा हेरफेर गरेको छ । परिवर्तित सन्दर्भमा संविधानसभा नियमावली तथा व्यवस्थापिका–संसदमा महत्वपूर्ण विधेयकहरू प्रस्तुत भएकाले त्यसको अनुमोदनको लागि सभासद्हरूलाई अनिवार्य उपस्थितिको लागि ह्वीपसमेत जारी भएकाले प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले बताए ।
कांग्रेसले पहिलो चरणमा अञ्चलस्तरीय प्रशिक्षणको तयारी गरेको थियो । महकालीको महेन्द्रनगरमा १६ चैतबाट पहिलो चरणको कार्यक्रम शुरु भएर १८ गतेसम्म चल्ने पनि निर्देशक आचार्यले बताए ।
त्यस्तै, सेतीको धनगढीमा १६ देखि १८ चैत, भेरीको नेपालगञ्जमा १८ देखि २० चैत, राप्तीको तुल्सीपुरमा १९ देखि २१ चैत र लुम्बिनीको बुटवलमा २० देखि २२ चैतसम्म प्रशिक्षण कार्यक्रम हुनेछ । गण्डकी, धौलागिरी र बागमतीको समय पछि तोकिने जनाइएको छ ।
मेची, कोसी, सगरमाथा, जनकपुर र नारायणीको कार्यक्रम भने वैशाखको लागि सारिएको प्रतिष्ठानले जनाएको छ । जसअनुसार मेचीमा ७ देखि ९ वैशाखमा, कोसीमा ८ देखि १० बैशाखमा, सगरमाथामा ९ देखि ११ बैशाखमा, जनकपुरमा १० देखि १२ बैशाखमा र नारायणीमा ११ देखि १३ बैशाखसम्म प्रशिक्षण हुनेछ ।
संविधानसभा निर्वाचनपश्चात् उत्पन्न राजनीतिक परिस्थिति, पार्टीको आदर्श सिद्धान्त, समसामयिक राजनीति र स्थानीय निर्वाचनलाई समेत ध्यानमा राखेर सो मेची–महाकाली जागरण अभियान पार्टीले सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया