एमाओवादी सरकारमा नजाने

काठमाडौ, ४ फाल्गुन । एकीकृत नेकपा माओवादीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आइतबार बसेको पूर्व पदाधिकारीको बैठकले तत्काल आफ्नो दल सहभागी नहुने निर्णय गर्दै सरकारलाई पूर्णता दिन कांग्रेस र एमालेलाई आग्रह गरेको छ ।
तर, यसअघि एमाओवादीका नेताहरुले एमाले नगए आफ्नो दल सरकारमा सहभागी हुन तयार रहेको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री सुशील कोइरालासँग अध्यक्ष दाहालले शनिबार गरेको भेटवार्तामा सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । सो भेटवार्तामा अध्यक्ष दाहालले सरकारलाई सङ्कट परे आवश्यक सहयोग गर्ने वचन दिएका थिए । सो आग्रहपछि एमाओवादीले आइतबार पूर्वपदाधिकारीको बैठक बोलाएको हो ।
बैठकले एमाओवादीलाई प्रतिपक्षमा बस्न जनादेश दिएकाले सोहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको जानकारी दिँदै नेता पोस्टबहादुर बोगटीले तत्काल आफ्नो पार्टी सरकारमा जाने सम्भावना नरहेको बताए । यस्तै, बैठकले अघिल्लो संविधानसभाले गरेका निर्णयको स्वामित्व ग्रहणसम्बन्धी विषयलाई तत्काल संविधानसभाको बैठकमा टेबल गर्न राजनीतिक दलहरूलाई आग्रहसमेत गरेको छ ।
गृह मन्त्रालय बाँडफाँडको विषयमा सुरु भएको विवादका कारण मन्त्रीमण्डल विस्तार हुन सकिरहेको छैन । विवाद बढ्दै गएपछि एमालेले आफ्नो दल प्रतिपक्षमा बस्ने चेतावनी दिइसकेको छ ।
एमालेले यस्तो चेतावनी दिएलगत्तै विकल्प खोज्न प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष दाहालसँग शनिबार भेट गरेका थिए । प्रधानमन्त्री कोइरालाले दाहालसँग सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।
बैठकले अघिल्लो संविधानसभाले गरेका निर्णयहरूको स्वामित्व ग्रहणसम्बन्धी विषयलाई तत्काल संविधानसभाको बैठकमा टेबल गर्न राजनीतिक दलहरूलाई आग्रहसमेत गरेको छ । ‘अघिल्लो संविधानसभामा कुन कुन विषयमा सहमति जुटेका हुन् र सहमति नजुटेका विषय कुन–कुन हुन् त्यो छुट्याउनुपर्‍यो,’ बोगटीले भने, ‘सहमति भएका विषयलाई टेबल गर्नुपर्‍यो नभएका विषयमा छलफल थालिनुपर्‍यो ।’

प्रतिक्रिया