काठमाडौं, २३ माघ । पोखराबाट भैरहवा जाँदै गरेको लु१ख ४९२४ नम्बरको बस पाल्पाको चिदिपानीस्थित भालुखोलामा बिहान सवा २ बजे दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सनाखत भएका मृतकमा गाडी धनी भिमगिठे बुर्तीबाङ बाग्लुङका २८ वर्षीय मोहन केसी, चालक पाल्पा मुझुङका ३३ वर्षीय रोमनसिंह सारु, गुल्मी सिमिचौर–६ का डिङबहादुर बस्नेत र भरतपोखरी–१ कास्कीका बुद्धिबहादुर बिक छन् । सनाखत भएका अन्यमा मोरभाङ– ९ रुकुमका ३८ वर्षीय राजबहादुर गुरुङ, पर्वत ठूलीपोखरीका बाबुराम आचार्य, पर्वतकै फौलालाकुरीका ठाकुर सुनार, गुल्मी मेहलपोखरीका गिरिराज भट्टराई, मोरङ
विराटनगरका ४९ वर्षीय गोपाल ढकाल, बर्दिया मगरागढी–९ का २१ वर्षका बिराटसिंह ठकुरी र मगरागढीकै रामवली रहेका छन् ।
अन्य मृतकको सनाखत हुन बाँकी छ । मृतकमध्ये १२ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । घाइतेहरूको पाल्पास्थित युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
घाइतेमध्ये स्याङ्जा चिन्नेबास ८ का ३७ वर्षीय डोलबहादुर राना, बर्दिया मगरागढी–९ का ३९ वर्षीया कमलासिंह ठकुरी, पुतलीबजार–२ का १९ वर्षीय दिपक कुँवर र रुकुम मरवाङ–८ का ४३ वर्षीय नरबहादुर बुढामगरको अस्पताल तानसेनमा उपचार भइरहेको छ । अन्यको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । प्रभासमा उपचार हुनेहरूमा राममन्दिर बुटवलका २४ वर्षीय प्रदीप केशरी, पोखरा न्युरोडकी पर्ष २८ की चन्दा वली र बाग्लुङ भकुण्डेका २२ वर्षीय सूर्य खत्री रहेका छन् ।
सिद्धार्थ राजमार्गको आर्यभञ्याङदेखि झन्डै ३ किलोमिटर पर भालुखोला भन्ने स्थानबाट बस झन्डै ३ सय मिटर तल खसेको थियो । दुर्घटनापछि घाइते भएर बाटोमै चिच्याइरहेकी पोखरा न्युरोडकी चन्दा वलीलाई भारतीय नम्बरको ट्रकले उद्धार गरेर स्थानीयलाई खबर गरेको थियो । त्यसपछि राम्दीघाटमा मलामी गएका स्थानीय आर्यभञ्याङबासीहरूले घाइतेहरूको उद्धार गरेका थिए । उनीहरूकै खबरपछि जिल्ला प्रहरी कार्यालय पाल्पा, राम्दी प्रहरी चौकी, तानसेनस्थित नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले बिहान ९ बजेसम्म घाइतेको खोजी र मृतकको शव घटनास्थलबाट सडकमा ल्याएका थिए ।
सडकबाट बस खसेको स्थानमा पुग्न भीर बाटो भएको र डोरीको सहायताले २५ मिनेट तल जानुपर्ने भएकाले पनि घाइतेको उद्धार गर्न कठिन भएको थियो । उद्धारकर्मीहरूले मोबाइल र हातेलाइटको सहयोगमा घाइतेको उद्धार गरेका थिए ।
प्रतिक्रिया