नेपाली जनताले मतदान गरेर आफ्ना प्रतिनिधिहरू संविधानसभामा पठाएका छन् । दुर्भाग्य संविधानसभाको दोस्रो निर्वाचन भएको ७५ दिन भयो अर्थात् दुई महिना १५ दिनको समय विनाप्रयोजन समाप्त भयो । यसबीचमा दलहरूले खासै उल्लेख्य काम गर्न सकेनन् । आन्तरिक द्वन्द्वको व्यवस्थापनको कार्यमा तल्लिन दलका शीर्ष नेताहरू त्यसबाट मुक्त भई नसकेको अवस्था विद्यमान छ । सबैभन्दा ठूलो दलका रूपमा उदाएको नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिद्वारा जसोतसो संसदीय दलको नेता चयन गर्यो । कांग्रेसले दलको नेता छान्न निकै ठूलो परिश्रम खर्च गर्नु पर्यो । अहिले कांग्रेसका सभापति संसदीय दलको नेता निर्वाचित भइसकेको अवस्थामा पनि त्यस पार्टीभित्र अर्को पक्षले आफ्नो पक्षलाई व्यवस्थापन कसरी गरिन्छ भनेर पर्खिबसेको अवस्था छ । जसले गर्दा अन्य दलसँग गरिनु पर्ने ठोस वार्ता गर्न पनि कांग्रेसले भ्याइरहेको छैन । सहमतिमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको सात दिनको समय पनि समाप्त भयो । अब कहुमतीय पद्धतिअनुरूप अगाडि बढ्नुपर्ने हुन्छ । कांग्रेसले आफूभित्रको वेमेललाई व्यवस्थापन गर्न सके संसदीय दलका नेता तथा सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने पक्कापक्की हुँदाहुँदै पनि त्यहाँभित्रको गजमौरो छिचोल्न निकै सकस परिरहेको छ । यो अवस्थामा त्यस दलले आफूलाई सफल व्यवस्थापन गर्न सक्ने पार्टीका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ किनकि कांग्रेसको काँधमा अहिले इतिहासले जिम्मेवारी सुम्पिएको छ ।
वास्तवमा निर्वाचन सम्पन्न भएको यो लामो समयभित्र राष्ट्रपति र उपराष्ट्रपतिका बारेमा उठेका सवालको जवाफ, सभामुख, उपसभामुखको निर्वाचन साथै सहमतिको सरकार गठन भइसक्नु पर्ने थियो । जनताले साह्रै छिटो समस्याको समाधान खोजेका छन् । साँच्चै भन्ने हो भने अन्तरिम संविधानबमोजिम गर्नुपर्ने साधारण कामको पनि दलहरूले थालनी गर्न सकेका छैनन् । कांग्रेसले अहिले राष्ट्रपतिका बारेमा कुनै कुरा गर्न नचाहे पनि नेकपा एमालेले राष्ट्रपति निर्वाचनको विषय उठाएको छ । सरकार गठन र सभामुख–उपसभामुखको निर्वाचन छिट्टै टु्ंग्याउनु पर्ने विषय हुन् । यसलाई लामो समय अल्झाएर राख्नु राम्रो हुँदैन । आन्तरिक द्वन्द्वमा अत्यन्त गहिरोसँग फसेका ठूला तीन दलको गति हेर्दा राष्ट्रको संकट छिटै हट्ने सम्भावना देखिँदैन । दोस्रो ठूलो दल एमालेका नेताहरू निकट भविष्यमा हुने पार्टीको महाधिवेशनलाई मध्यनजर राखेर संसदीय दलको नेता, सरकारमा नेतृत्व गर्ने व्यक्तिको चयन र अन्य लाभको पद बाँडफाँडमा केन्द्रित रहेका देखिन्छन् । जसले गर्दा कांग्रेसलाई सरकार गठन गर्न हतारो छैन भन्ने लागेको हुन सक्छ । यता समयले नेटो काट्दै छ भने एमालेजस्तो जिम्मेवार पार्टी आफ्नै समस्यामा गुजुल्टिएको देखिन्छ । यी दुई दलको आन्तरिक कलहले गर्दा नजानिँदो गरी सर्वत्र नकारात्मक प्रभाव पारिरहेको छ । तसर्थ दलहरूले आन्तरिक द्वन्द्वको छिटो व्यवस्थापन गरेर राष्ट्रिय समस्या समाधानमा लाग्नु पर्छ ।
कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । बुद्धिमतापूर्ण ढंगले सबैको सहमतिमा सरकार गठन गर्ने र सबै पक्षले अपनत्त्व महसुस गर्न सक्ने संविधान निर्माणमा सहयोग जुटाउने अभियानमा कांग्रेस लाग्नु पर्छ । एमाओवादी र मधेसी दलहरू अहिले खुम्चिएको, सुस्ताएको र मुर्छाएको अवस्थामा छन् । उनीहरूमा पनि उत्साह थपेर गतिशील बनाउँदै सरकारलाई समर्थन गर्ने साथै संविधान लेखनमा महत्पपूर्ण भूमिका निर्वाह गर्न सक्ने बनाउने दायित्त्व कांग्रेस र एमालेले पूरा गर्नुपर्छ । विगत संविधानसभाले सिकाएको पाठ कसैले पनि बिर्सनु हुँदैन । त्यसबेला एमाओवादीले आफूमा आएको ऐतिहासिक जिम्मेवारी पूरा गर्न नसक्दा अहिलेको अवस्था आएको हो । अहिले त्यो जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।
प्रतिक्रिया