काठमाडौं, १७ माघ । एमाओवादीभित्र नेतृत्व परिवर्तनको एजेन्डा उठाउँदै आएका पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराईले महाधिवेशनको प्रस्ताव गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शुक्रबार बसेको पूर्वपोलिटब्यूरो सदस्यहरूको बैठकमा डा. भट्टराईले राष्ट्रिय सम्मेलनले पार्टीमा देखिएको समस्या समाधान नगर्ने भन्दै महाधिवेशनको प्रस्ताव ल्याएको पूर्वपोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले सौर्यसँग बताए ।
एमाओवादी अध्यक्ष दाहालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने र तयारी गरेर मात्र महाधिवेशनमा जाने प्रस्ताव ल्याएपछि डा. भट्टराईले राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशनको प्रस्ताव अघि सारेका हुन् । डा. भट्टराईले उक्त प्रस्ताव राखेपछि अध्यक्ष दाहालले भने आफूहरू महाधिवेशन गर्न हुन्न भन्ने पक्षमा नभएको तर एकैचोटी गर्दा तयारी नपुग्ने भएकाले पहिले राष्ट्रिय सम्मेलन र त्यसपछि महाधिवेशन गर्ने योजना रहेको बताएको नेता पौडेलले बताए ।
पूर्वपोलिटब्यूरो बैठकमा सहमति नजुटेपछि शनिबार बिहान कार्यालयको बैठक बसेर सहमति जुटाइने भएको छ । शनिबारका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा दाहालले आफ्नो प्रस्तावसमेत राख्दै छन् । आफ्ना मागलाई सम्बोधन नगरे नेता डा. भट्टराईले दाहालको प्रस्तावमा असहमति जनाउँदै आफ्नो विचार राख्ने स्रोतको दाबी छ ।
चुनावमा पार्टी पराजय भएपछि नेता डा. भट्टराईले एक वर्षसम्म कुनै पनि सरकार तथा अन्य पदमा नबस्ने घोषणा गर्दै अध्यक्षलगायत अन्य पदाधिकारीले समेत जिम्मेवारीको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग उठाउँदै आएका छन् ।
राजधानीमा दुई हप्तादेखि जारी केन्द्रीय समिति बैठकमा यसअघि बोल्दै डा. भट्टराईले पार्टीको नेतृत्व दोस्रो पुस्तालाई दिनुपर्ने बताएका थिए । तर, अध्यक्ष दाहालले तत्काल नेतृत्व छाड्दिनँ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए ।
डा. भट्टराईले स्टालिन शैलीले पार्टी नचल्ने भन्दै पार्टी पुन:निर्माणका लागि लोकतान्त्रिक प्रणालीमार्फत सिस्टम बसाल्नुपर्ने माग उठाउँदै आए पनि दाहाल पक्षले भने पार्टी नेतृत्व कब्जा गर्ने रणनीतिमा डा. भट्टराई लागेको आरोप लगाउँदै आएका छन् ।
अर्का पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि महाधिवेशन गर्ने विषयलाई जोड दिएका छन् । तर, डा. भट्टराईले राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशन गर्ने प्रस्ताव गरे पनि श्रेष्ठले भने बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने र जतिसक्दो छिटो महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
एमाओवादीभित्र केन्द्रीय समिति कत्रो बनाउने भन्ने विषयमा पनि विवाद छ । यता, संसदीय दलको नेतामा कार्यालयले अध्यक्ष दाहाललाई बनाउने निर्णय गरे पनि उपनेता कसलाई बनाउने भन्ने टुंगो लाग्न सकेको छैन । कार्यायलले भट्टराईलाई उपनेता बन्न आग्रह गरेपनि डा. भट्टराईले अस्वीकार गरेपछि कसलाई बनाउने भनेर एमाओवादी टुंगोमा पुगेको छैन ।
प्रतिक्रिया