काठमाडौं, १५ मंसिर । वाणिज्य तथा आपूर्ति एवं अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विश्व व्यापार संगठनमा नेपालले अति कमविकसित मुलुकका विकासका मुद्दा जोडतोडका साथ उठाउने बताएका छन् ।
विश्व व्यापार संगठनको नवौं वाणिज्य मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शनिबार) पत्रकार सम्मेलन गरी मन्त्री कोइरालाले अध्यक्षको हैसियतमा नेपाले अतिकम विकसित मुलुकमा विशेष चासोका रुपमा रहेका प्रमुख तीनमुद्दा उठाउने बताए । उनले सम्मेलनमा व्यापार सहजीकरण, कृषि र विकासमा बाली सम्मेलनमा सघन रुपमा उठाउने बताए ।
‘अति कम विकसित मुलुकका विशेष चासोका रुपमा विगतदेखि वार्ताको क्रममा रहेका विषयहरु विशेष गरी भन्साररहित कोटा सुबिधामा बजार पहुँच, प्रवेश उत्पतिको नियम, सेवाको कार्यान्वयनको विषय नेपालले गम्भीरताका साथ उठाउँछ,’ उनले भने, ‘सत् प्रतिशत सुबिधा र कम्तीमा पनि ९७ प्रतिशत सुबिधा दिने विगतको निर्णयको कार्यान्वयन नेपाललगायत अति कम विकसित मुलुकको प्रमुख चासोको विषय हो ।’
सन् २०११ मा आठौं सम्मेलनमा भएका नीतिगत निर्णयलाई कार्यान्वयनमा ल्याउने सम्बन्धमा बैठकमा सम्भाव्य क्षेत्र, उपक्षेत्र तथा अवस्था पहिचान गरी आवश्यक कार्य अघि बढाउने समेत उनले बताए ।
मन्त्रिस्तरीय सम्मेलन आगामी डिसेम्बर ३ देखि ६ तारिखसम्म इण्डोनेसियाको बालीमा हुँदैछ । नेपाल सन् २००४ मा १ सय ४७ औं सदस्यका रुपमा संगठनमा प्रवेश गरेको थियो ।
नेपालपछि थप भएका १२ नयाँ सदस्यसहित विश्व व्यापार संगठनमा १ सय ५९ मुलुक सदस्य रहेका छन् । अति कम विकसित मुलुकहरुको अध्यक्षता नेपालले गर्दैछ ।
प्रतिक्रिया