समग्र निर्वाचन प्रक्रियामा सम्झौता हुँदैन–आयुक्त यादव

Ayodhiprashad-Yadavकाठमाडौं, १० मंसिर । निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचन र मतगणनाको पुनरवलोकनको कुनै पनि संभावना नरहेको स्पष्ट पारेका छन् । आयुक्त उप्रेतीले निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापनको पक्ष र पाटोमा भने पुन: मूल्याङ्कन गरिने धारणा राखे । आइतवार आयोजित साक्षात्कारमा उनले भने “हामीले गरेको निर्वाचनको मतदान, मतगणना र परिणाम घोषणामा अब कुनै सम्झौता हुँदैन ।”

निर्वाचनमा अनियमितता र धाँधली भएको जनाउँदै मतगणनालाई स्थगन गरी निर्वाचन प्रक्रियाबारे पुनरवलोकन गर्न एनेकपा माओवादीले माग गरेको थियो । निर्वाचनमा हामीले के गर्‍यौं, कसरी गर्‍यौं, कहाँ कमजोरी भयो, त्यसलाई आगामी दिनमा कसरी सुधार गर्ने भन्ने पाटोबाट आयोगले गरेको कामको मात्र अब मूल्याङ्कन गरिने छ–उनले भने । निर्वाचन विषयमा ठोस विश्लेषण गरेर मात्र निष्कर्षमा पुग्न सरोकार भएकाहरूलाई सुझाब दिंदै आयुक्त यादवले निर्वाचन निष्पक्ष र स्वतन्त्र भएकाले जनादेशको पालना गरेर राष्ट्र र जनताको समृद्धिका लागि काम गर्नेतर्फ अघि बढ्न राजनीतिक दललाई आह्वान गरे ।
मतदान, मतगणनालगायत विषयमा आयोगले गरेको व्यवस्थापन र प्रक्रिया अत्यन्तै उच्चस्तरको भएकाले विश्वसनीयताका साथ काम सम्पन्न भएको जिकिर गर्दै उनले राजनीतिक दल, अन्तर्राष्ट्रिय समुदाय र पर्यवेक्षक सबैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वीकार गरेको दावी गरे । उम्मेदवार, प्रतिनिधि र पर्यवेक्षकको रोहबरमा भएका काममा कुनै शङ्का र दुविधा नलिन आग्रह पनि गरे । मुलुकको भौगोलिक अवस्था र भौतिक साधनस्रोतको सुविधाका आधारमा एक ठाउँमा मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याएर सबै राजनीतिक दल र उम्मेदवारको सहमतिमा मतगणना प्रारम्भ गरिएको हो भन्दै आयुक्त यादवले अत्यन्तै सतर्कता र इमान्दारीताका साथ निर्वाचन प्रक्रिया सम्पन्न गरेको दावी गरे ।

प्रतिक्रिया