विश्वास नै सामुदायिक विद्यालय सुधारको सर्त

Raghu-Mainali-copyप्रसंग स्थलगत अवलोकनबाट शुरु गरौं । एउटा बलियो भ्रम नेपालका गाउ गाउ र कुनाकाप्चासम्म व्याप्त रहेछ– अंग्रेजी नै शिक्षा हो । यसै शैक्षिक वर्षको शुरुमा यो भ्रम हानिएर कैलालीको श्री सरस्वती माध्यमिक विद्यालय, दुर्गौलीमा प्रवेश ग-यो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरू दिलैदेखि जुर्मुराए र, घोषणा गरे– अव “कक्षा एक” र “वान क्लास” एकैसाथ शुरु गर्ने । यो निर्णय अनुसार “कक्षा एक” र “वान क्लास” मा भाषा, भेष, कम्पाउण्ड र शुल्क फरकफरक हुने भयो । विद्यालयको नया व्यवस्थाले “कक्षा एक” को भाषा नेपाली र “वान क्लास” को भाषा अंग्रेजी तोक्यो । भेषमा अब “वान क्लास” का विद्यार्थीका लागि “कक्षा एक”का विद्यार्थीले लगाउने भेषमाथि टाई र वेल्ट थपिए । मासिक शुल्क अन्य स्थानीय निजी अंग्रेजी भाषी विद्यालयले लिने भन्दा आधा रकम निर्धारण भयो । फलामका रडहरू ठड्याएर विद्यालयको पुरानै मैदानको केही भाग बारबेर गरी छुट्टै कम्पाउण्ड बनाइयो । अनि ‘कक्षा एक’ र ‘वान क्लास’ मा अलग अलग पढाइ शुरु भयो ।

यो खबरले जिल्ला शिक्षा कार्यालय र कैलाली जिल्लामा गुणस्तरीय शिक्षाका लागि क्रियाशील फाया नेपालजस्ता गैरसरकारी संस्थाहरूलाई हैरानी थप्यो । उनीहरूको संयुक्त पहलमा पटकपटक सरस्वती माविको व्यवस्थापनसंग कुरा भयो । करीव तीन महिना “कक्षा एक” र “वान क्लास”को अलग अलग पढाईपछि दुवै कक्षा गाभिएर फेरि एउटै कक्षामा पढाई शुरु भयो ।
विद्यालय, जिल्ला शिक्षा कार्यालय तथा गुणस्तरीय शिक्षामा सम्लग्न संघसस्थाहरूले वेहोरेको यो हैरानी सरकारी शिक्षा नीति, नागरिक दायित्वप्रति सरकारी उदासिता र अभिभावकहरूमाझ व्याप्त शिक्षा बारेको भ्रमपूर्ण वुझाईबीच उत्पन्न विरोधाषासको अश्लिल प्रदर्शन थियो । हिजोआज सामुदायिक विद्यालयहरूमाथि सरकारले पसल खोल तर व्यापार नगर भन्ने नीति लिएको छ । सस्तो राजनीतिक लोकप्रियताका लागि सरकारले कक्षा आठसम्म नि:शुल्क शिक्षा नीति घोषणा गऱ्यो । यो नीति अनुसार सामुदायिक विद्यालयप्रति सरकारले लिएको दायित्वले कार्यरत शिक्षक मध्ये आधा शिक्षकको खर्च पनि धान्न नपुग्ने भयो । विद्यालयमा हुने अरु स्टेशनरी खर्च, मसलन्द खर्च, मर्मत सम्भार तथा अतिरिक्त क्रियाकलाप खर्च आदिइत्यादि थप दायित्वको हिसावकिताव त अलग्गै छादैछ ।
अभिभावकको वुझाइमा अंग्रेजी जाने शिक्षित होइन्छ । त्यसैले उनीहरू अंग्रेजी पढाइ हुने विद्यालयमा विशेष गरी आफ्ना छोराहरू पढाउन चाहन्छन् । स्थानीय चलनचल्तीका भाषामा यस्ता विद्यालयलहरू वोर्डिङ (आवसको व्यवस्था नभएपनि) स्कुल हुन् । सामुदायिक स्कुलमा पढाउदा कापीकलमसम्म नकिन्दिने अभिभावकहरू ‘वोर्डिङ’ स्कुलमा पढाउनका लागि चर्को शुल्कका साथै टाइ र वेल्ट समेत किन्नमा गर्व गर्छन् । उनीहरूको यो गर्व विस्तारै नक्कली सामाजिक प्रतिष्ठा बन्दै गएको छ । अभिभावकहरूको यस्तो चाहनाले गर्दा सामुदायिक स्कुलमा विद्यार्थी भर्ना संख्या अत्यन्त न्यून हुन थाल्यो । सामुदायिक विद्यालय संचालकहरूमा नया विद्यार्थी भर्ना संख्या बढाउने चिन्ता थपियो । अभिभावकहरूको यस्तै वुझाइ र गैरजिम्मेबार सरकारी नीतिको चेपबाट विद्यालय चलाउनका लागि सरस्वती माविको व्यवस्थापनले यो चलाखीपूर्ण बाटो रोजेको थियो ।
उनीहरूको यो प्रयत्न वर्तमानको समस्या समाधान गर्ने सजिलो उपाए थियो । यस विद्यालयका पूर्व प्रधानाध्यापक कुलासिहं बम विद्यालयका समस्याहरूलाई खरखरी सुनाउन यसरी भन्छन– शिक्षक दरवन्दी कम छ, सबै शिक्षकलाई तलव खुवाउन अन्य स्रोत छैन, शुल्क लिन पाइदैन, अभिभावकसंग खासै सम्पर्क हुदैन, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास पनि गुमेको छ आदि इत्यादि । यस्तै समस्या र कुनै न कुनै उपायको खोजीमा कैलाली जिल्लामा सञ्चालित करिव साढे पाच सय सामुदायिक विद्यालयहरू छन् । सरकारले निशुल्क शिक्षा त भन्यो, सुन्दा अत्यन्त आकर्षक पनि लाग्छ तर यो निर्णयले परम्परागत रुपमा रहिआएको विद्यालय र अभिभावकबीचको सम्वन्ध टुट्यो । निशुल्क शिक्षा पछि विद्यालय र अभिभावकबीचको पारस्पारिकता के र कस्तो सम्वन्ध हुने कुरा परिभाषित गरिएन । जसले गर्दा विद्यालय र अभिभावकबीच दुरी बढ्दै गयो । अभिभावकहरूलाई आफ्ना वालवच्चाको भलाइको चिन्ता त हुनेनै भयो तर सामुदायिक विद्यालयप्रति अभिभावकका थुप्रै निरासाजनक अनुभूतिहरू थपिए । उनीहरूमाझ सार्वजनिक विद्यालयप्रति वितृणा बढिरह्यो । त्यसैले उनीहरू आफ्ना बुताले भ्याएसम्म वोर्डिङ स्कुल पढाउन चाहन्छन् । अभिभावकको यही आकांक्षा वुझेका व्यक्तिहरूले कैलाली जिल्लामा अढाई सय भन्दा बढी वोर्डिङ स्कुलहरू खोलेका छन् ।
शिक्षा मन्त्रालयका अधिकारीहरूमा यी वोर्डिङ स्कुल प्रति अलिकति पनि सहानुभूति छैन र सामुदायिक विद्यालयको दुर्दसाप्रति अलिकति पनि चिन्ता छैन् । उनीहरूको सरोकार एउटै छ विद्यालयको जेजस्तो हालत भएपनि सरकारी नीति कसरी पालना गराउने ? आश्चर्यलाग्दो पक्ष के छ भने यस्तो अवस्थाप्रति राज्य, विद्यालय सञ्चालक र शिक्षकहरूबीच मौन सहमति छ । एक्सन एडको विश्वव्यपी अनुभवजस्तै सरकारको यही बलजफतिपूर्ण आधारभूत शिक्षा नीतिले कैलाली जिल्लामा पनि नैतिक अत्याचार फैलाएको छ ।
यो नैतिक अत्याचारलाई कम गर्न एक्सन एड नेपालको सहयोग लिएर कैलाली जिल्लामा फाया नेपालले विगत तीन वर्षदेखि गुणस्तरीय शिक्षा अभियान शुरु गरेका छन् । यो अभियान अन्तरगत उनीहरूको प्रयत्न सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षालाई
सवलीकरण गर्नुमा केन्द्रित छ । फाया नेपालको वुझाइमा गुणस्तरीय शिक्षाका लागि आवश्यक अभिभावक, स्कुल व्यवस्थापन तथा शिक्षक र विद्यार्थीबीचको त्रिकोणीय समन्वय भताभुङ्ग छ, शिक्षकहरूमा जिम्मेवारी र तयारी दुवैको कमी छ । विद्यालयमा शिक्षा शिक्षण वातावरण विलकुलै शुन्य छ र शैक्षिक सामग्री नगन्य मात्र छन । सामुदायिक विद्यालयलाई यस्तो हालतबाट उकास्ने उपायका रुपमा नविन पद्धति र उत्साहका लागि फाया नेपालले हातेमालो गरिरहेको छ ।
फाया नेपालका सञ्चार प्रवन्धक शेरबहादुर वस्नेत भन्छन– आम नागरिकसंग प्रत्यक्ष जोडिएको साझा मुद्दा शिक्षा नै हो तर अधिकाशंले शिक्षाको गिर्दो अवस्थाप्रति चासो राखेको पाइदैन । त्यसैले उनी प्रष्ट पार्छन– सामुदायिक विद्यालयमा आवश्यकता हेरी नया कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला तथा आवास बनाउन र विद्यालयमा सूचना प्रविधि जडान गर्न फाया नेपालले कैलालीका ७५ वटा विद्यालयमा सहकार्य शुरु गरेको हो । श्री जनजागृति माध्यामिक विद्यालय सीतापुरका प्रधानाध्यापक ललिता शाही फाया नेपालसंगको सहकार्यले शैक्षिक गुणस्तर सुधार्न मद्दत पुगेकोमा उत्साहित छिन । उनको अनुभव यो सहकार्यले भौतिक पूर्वाधामात्र होइन शिक्षकहरूलाई शिक्षक हुनुको कर्तव्य वोध गर्न समेत घच्घच्याएको छ ।
सन्तोषका साथ प्रधानाध्यापिका शाही विद्यालयमा देखापरेका सकारात्मक लक्षणहरूको सूचि बताउाछिन– विद्यार्थीका लागि पुस्तकालय र सूचना प्रविधि जडान गर्न सकियो, विद्यालयमा बालमैत्री शैक्षिक बतावरण कायम भएको छ, लाठ्ठी लिएर शिक्षकहरू कक्षाकोठामा पस्ने कार्य बन्द भएको छ, विद्यार्थीहरू ढुक्क भएर शिक्षकसाग जिज्ञासा राख्न थालेका छन, स्कुलमा भोगेका समस्याहरू, आफूले गरेका सरसफाईजस्ता गतिविधिहरू समावेश गरेर विद्यार्थीहरू भित्तेपत्रिका निकाल्छन, विद्यालयमा नियमित सामाजिक परिक्षण शुरु भएको छ, समिति, अभिभावक संघ, शिक्षक तथा विद्यालय कर्मचारीबीच नियमित बैठक बस्न थालेको छ, शिक्षकमा उत्साह बढेको छ । सारमा उनी भन्छिन– मिलेर गर्दा जस्तोसुकै काम पनि संभव हुदो रहेछ ।
प्रधानाध्यापक शाहीको यो निचोड सामुदायिक विद्यालयको सुधारका लागि गुरुमन्त्र हो । नेपालका सामुदायिक विद्यालयले गुमाएको पहिलो, दोस्रो र तेस्रो कुरा हो विश्वास । विद्यालयप्रतिको विश्वास अभिभावकसंगको पारस्पारिकता, उठवस तथा सहयोगमा निर्भर गर्छ । तसर्थ विद्यालयहरू अत्यधिक नेतृत्व प्रधान संस्था हुन् । विद्यालय सञ्चालनका लागि नेतृत्वको अतिउत्तम स्वरुपका रुपमा लिइने स्वयंसेवी नेतृत्व चाहिन्छ । सेना वा निजी कम्पनीमा हुने जस्तो पदीय नेतृत्वले शिक्षालय चल्दैनन् । गुणस्तरीय शिक्षाका लागि विद्यालय संचालक तथा शिक्षकहरू कक्षा कोठा भित्रमात्र कार्य क्षेत्र भएको परम्परागत शिक्षक भएर पुग्दैन, उनीहरूले अभिभावकहरूलाई नेतृत्व दिन सक्नुपर्छ, भिन्न सांस्कृतिक समुह, जात तथा फरक रहनसहनमा हुर्केका छात्रछात्राहरूलाई आफ्नो प्रभावमा राखेर शिक्षा प्रवाह गर्नुपर्छ । भिन्न आवश्यकता तथा रुचि भएका व्यक्तिहरूलाई समेट्न सक्नु पर्छ । सरकार तथा शिक्षासंग सरोकार राख्ने निकायहरूसंग उचित समन्वय गर्नसक्नु पर्छ । समाज परिवर्तनका लागि क्रियाशील संस्था, पेशागत तथा अधिकारमुखी संघसंस्थाहरूसंग मिलेर समाजको आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपान्तरणका लागि सक्रिय रहनु पर्छ । स्थान अनुसार भिन्न भिन्न परिस्थितिको सामना गर्नु पर्छ । शिक्षकले समुदायका हरेक व्यक्तिलाई गन्तव्यप्रतिको प्रष्ट चेतना दिन सक्नु पर्छ । यसको अर्थ हो शिक्षक आफंमा एउटा सफल नेता बन्न सक्नुपर्छ । यी कार्यहरूको वलियो जग हो– पारस्पारिक विश्वास ।

प्रतिक्रिया