निर्वाचन कार्यक्रम शान्तिपूर्ण : कोइराला

काठमाडौं : सरकारले निर्वाचन विरोधी केही राजनीतिक दलबाट बन्द आह्वान भएपनि मुलुकभर निर्वाचन केन्द्रित कार्यक्रम शान्तिपूर्ण वातावरणमा र तीव्र गतिमा भइरहेको जनाएको छ ।
बन्दको प्रभाव पर्न नदिन सुरक्षाकर्मीलाई समन्वयात्मक एवम् एकीकृत रुपमा परिचालन गरिएकाले मुलुकभरको जनजीवन सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ । लामो तथा छोटो दूरीका सवारी साधनलाई आवश्यक सुरक्षा प्रदान गरी यातायातलाई सञ्चालन गरिनाका साथै उद्योगधन्दा, कलकारखाना, बजार एवम् सार्वजनिक सेवा सुचारु रहेको सो मन्त्रालयद्वारा शुक्रवार आयोजित पत्रकारभेटमा जानकारी दिइयो ।
तथापि, बन्दकर्ताबाट सर्वसाधारणलाई भय र आतङ्क सिर्जना गर्न यात्रुबाहक सार्वजनिक सवारी साधनमाथि लुकिछिपी पेट्रोल बम प्रहार गर्ने, ढुङगामुढा गर्ने, तोडफोड एवम् आगजनी गर्ने तथा सार्वजनिक स्थानमा विस्फोटकजन्य वस्तु विस्फोट गराउने तथा शङ्कास्पद बस्तु राख्ने कार्य भएको बताइएको छ । गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाका अनुसार बन्दकर्ताले शुक्रवार पनि एउटा सवारी साधनमा पेट्रोल बम प्रहार गर्नुका साथै १३ वटा सार्वजनिक सवारीमाथि तोडफोड र आगजनी गरेका छन् । त्यस्तै दुई स्थानमा विस्फोट गराइएको, ६ स्थानमा विस्फोटक पदार्थ तथा १४ स्थानमा विस्फोटक जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेकामा नेपाली सेनाबाट निष्कृय पारिएको मन्त्रालयले जनाएको छ । (सौस)

प्रतिक्रिया