काठमाडौं, २६ कात्तिक । सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) पदमा हालै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा भएका उपेन्द्रकान्त अर्याललाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १ मंसिरदेखि लागू हुने गरि अर्याललाई आइजिपी पदमा बढुवा गर्ने निर्णय गरेको हो । अर्यालले भने आइजिपी कुवेरसिंह राना र अन्य सात एआइजी एकसाथ बिदामा बसेपछि सोमबारदेखि नै कायममुकायम आइजिपीको कार्यभार सम्हालेका छन् । २९ कात्तिकमा आइजिपी राना र अन्य सात एआइजीको ३० बर्षे सेवा अवधि सकिने भएपछि उनीहरू बिदामा बसेका हुन् । सेवा अवधि सकिनेमा आइजिपी रानासहित एआइजी नवराज ढकाल, भीष्म प्रसाईं, गंगा पाण्डे, दिनकरशमशेर राणा, पुष्कर रेग्मी, रमेशविक्रम शाह र प्राविधिक एआइजी रामनाथ सिंह छन् ।
उनीहरूको सेवा अवधि आइजिपी रानासँगै सकिने भएपछि सरकारले १४ कात्तिकमा डिआइजी अर्याललाई एआइजी पदमा बढुवा गरेको थियो । एआइजीमा बढुवा भएको दुई सातामै सरकारले उनलाई आइजिपी पदमा नियुक्त गरेको हो ।
३ चैत २०४३ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका अर्याल ०७३ मंसिर मसान्तसम्म पदमा रहनेछन् । राजनीतिक निर्णयले वा अन्य कुनै कारणले समस्या पैदा नभए अर्यालले आइजिपीको तीनवर्षे कार्यकाल पूरै बिताउनेछन् । ०६३ यता कुनै पनि आइजिपीले आºनो पूर्ण कार्यकाल बिताउन पाएका छैनन् । त्यसयताको सात वर्षमा बनेका आइजिपी श्यामभक्त थापा, ओमविक्रम राणा, हेम गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह र कुवेर रानाले राजनीतिक हेरफेर र ३० वर्षे सेवा अवधिका कारण तीन वर्षे कार्यकाल बिताउन पाएनन् ।
सरकारले डिआइजीबाट आइजिपी पदमा लिने भएपछि अर्यालसँगै डिआइजीहरू पार्वती थापा, विमला थापा, राजेन्द्रसिंह भण्डारी, उपेन्द्रकान्त अर्याल र सुरेन्द्रबहादुर शाह दौडमा थिए । सरकारले एआइजीमा अर्याललाई मात्र बढुवा गरेपछि डिआइजी पार्वती थापा बढुवा बदरको माग गर्दर्ै सर्वाेच्च अदालत पुगेकी थिइन् । सर्वाेच्चले भने आइतबार मात्र थापाको मागलाई अस्वीकार गरिदिएपछि सरकारले अर्याललाई आइजिपीमा नियुक्त गरेको हो । आइजिपी पदको दौड सकिएपछि डिआइजीहरू एआइजी पदको बढुवामा जुटेका छन् । सोमबारदेखि एकसाथ सात एआइजी पद रिक्त भएपछि डिआइजीहरूको दौड सुरु हुने भएको छ ।
२१ असोज ०६६ मा बढुवा भएका १४ डिआइजीमध्ये अर्याल आइजिपी पदमा नियुक्त भएपछि अन्य डिआइजी एआइजीको दौडमा रहनेछन् । यसरी एआइजीको लाइनमा रहेका डिआइजी राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदारप्रकाश साउद, रमेशशेखर बज्राचार्य, विज्ञानराज शर्मा, गणेशराज राई, वीरेन्द्रबाबु श्रेष्ठ, यादव अधिकारी, परशुराम खत्री, प्रतापसिंह थापा, विश्वराज सिंह शाही, सुशीलवर सिंह थापा, टपेन्द्रध्वज हमाल, केशबहादुर शाही र पूर्णसिंह खड्का छन् ।
प्रतिक्रिया