गुल्मी, २३ कात्तिक । गुल्मीको पुर्कोटदहमा एमाओवादीको सहायक संगठन वाइसीएलका कार्यकर्ताले एमाले चुनावी प्रचार प्रसार टोलीलाई आक्रमण गरेर लखेटेको छ ।
वाइसीएलको १३ नम्बर इलाकाको भेलालाई असरपारेको भन्दै एमाओवादीका कार्यकर्ताले टोलीलाई लखेटेको एमालेले आरोप लगाएको छ ।
पुर्कोटदहको बजारमा नारा जुलुससहित पुगेको वाइसीएल टोलीले एमालेका प्रत्यक्ष तर्फका उम्मेदवार गोकर्ण विष्टसहितको टोली माथि आक्रमण गरेको हो ।
‘वाइसीएलको पूर्व निर्धारित कार्यक्रममा एमालेले कार्यक्रम जुधाए पछि समस्या भएको हो,’ वाइसीएलका जिल्ला सदस्य जनक नेपालीले भने, ‘एमालेका उम्मेदवार गोकर्ण विष्टसहितको टोलीलाई हामीले केही गरेका छैनौं ।’
उता, एमालेले वाइसीएलले आफूहरुलाई आक्रमण गरेको भन्दै विरोध जनाएको छ । एमालेले दोषीलाई कारबाहीको माग गरेको छ ।
एमालेका कार्यकर्ताले आफूहरुको र्यालीमा झण्डामा ढुङ्गा बाँधेर प्रहार गरेको वाइसीएल पुर्कोटदहका उपाध्यक्ष दिलीप घिमिरेले आरोप लगाए । र्यालीमा आक्रमण भए पछि दोहोरो झडप भएको घिमिरेले बताए ।
यस अघि हाडहाडेमा एमाओवादीले गरेको चुनावी सभामा एमालेका कार्यकर्ताले अभद्र व्यवहार गरी विथोल्ने प्रयास गरेको घिमिरेले आरोप लगाए ।
युवा संघका पदम विष्ट र गाउँ कमिटी अध्यक्ष चन्द्र सुनारको नेतृत्वमा सभामा आक्रमण भएको एमाओवादीको आरोप छ ।
प्रतिक्रिया