‘रेग्मीले नेकपा–माओवादीलाई रोके’

काठमाडौं, १७ कात्तिक । काठमाडौं–६ का एमालेका प्रत्यक्षतर्फका उम्मेदवार योगेश भट्टराईले अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका कारण नेकपा–माओवादी चुनावी प्रक्रियामा सहभागी नभएको बताएका छन् ।

काठमाडौं महानगरपालिका–३१ का मतदातालाई शनिबार बागबजारमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताए । ‘अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएको भए नेकपा–माओवादी चुनावी प्रक्रियामा सहभागी हुन्थ्यो,’ उनले भने, ‘रेग्मीकै कारण नेकपा–माओवादी चुनावी प्रक्रियामा सहभागी भएनन् । रेग्मीले अझै पनि प्रधानन्यायाधीश पदबाट राजीनामा दिने हो भने उक्त दललाई चुनावी प्रक्रियामा सहभागी गराउन सकिने उनको भनाइ थियो ।
सो क्षेत्रमा आफू विजयी भएमा कायापलट गर्ने दाबी पनि युवा नेता भट्टराईले गरे । ‘मैले यो क्षेत्रबाट र देशभरिबाट एमालेले बहुमत ल्याएको अवस्थामा टुकुचा खोलामाथि गाडी कुद्ने र उपत्यकासहित काभ्रेको केही भूभागलाई समेटेर विशाल महानगरपालिका निर्माण गर्छौं,’ उनले भने, ‘चार लाख युवालाई प्रत्येक वर्ष रोजगारीको व्यवस्था गर्ने जिम्मा एमालेले लिन्छ ।’ उनले प्लस टु माथिको अध्ययन र विद्यार्थीले व्यवसाय गर्न चाहेको अवस्थामा प्रमाणपत्र धितो राखेर विनाब्याज १० लाखसम्मको ऋण उपलब्ध गराउने व्यवस्थाको ग्यारेन्टी पनि एमालेले गर्ने जिकिर गरे ।

प्रतिक्रिया