काठमाडौ, ८ कात्तिक । संघीय समाजवादी पार्टीले १४ प्रदेशको संघीय संरचनासहितको घोषणापत्र बिहीबार सार्वजनिक गरेको छ । उक्त पार्टीले बिहीबार पार्टी कार्यालय महाराजगन्जमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । अघिल्लो संविधानसभाको राज्य पुन:संरचना समितिले बहुमतले पारित गरेको १४ प्रदेशको प्रस्तावलाई घोषणापत्रमा समावेश गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । ‘अन्य दलले संसदीय निर्वाचनमा जस्तो विकास निर्माणका मुद्दालाई प्राथमिकता दिएका छन्,’ संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भने, ‘हामीले सार्वजनिक गरेको घोषणापत्र संविधानसभासँग सम्बन्धित छ ।’ श्रेष्ठले घोषणापत्रमा एमाओवादी, कांग्रेस, एमाले र मधेसीमोर्चाको स्वैच्छाचारी र अधिनायकवादी प्रवृत्तिका कारण पहिलो संविधानसभा विघटन हुन पुगेको कुरालाई विशेष प्राथमिकता दिएको दाबी गरे ।
आºनो घोषणापत्रमा समावेशी राष्ट्रपति प्रणालीलाई पनि समावेश गरेको जानकारी महासचिव श्रेष्ठले दिए । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अवधारणालाई अघि सारेका छौँ,’ उनले भने, ‘तर राष्ट्रपति र उपराष्ट्रपति भने एउटै प्रदेश, जाति, समुदाय र लिंगको समेत हुन नहुने हाम्रो प्रस्ताव छ ।’ उक्त दलले प्रधानमन्त्री भने राष्ट्रपतिको प्रस्तावमा संसद्बाट अनुमोदित हुनुपर्ने प्रस्ताव अघि सारेको छ । ‘घोषणापत्रमा राष्ट्रपतिले गल्ती गरे उनलाई महाअभियोग लगाउन सकिने व्यवस्थालाई समेत समावेश गरेका छौँ,’ श्रेष्ठले भने, ‘केन्द्रलाई एकतर्फी अधिकार दिनु नहुने कुरा पनि घोषणापत्रमा समावेश छ ।’
त्यसैगरी, समानुपातिक निर्वाचन प्रणाली, अल्पसंख्यकलाई धितोको अधिकार, केन्द्र, प्रदेश र स्थानीय निकायमा बहुभाषी नीतिजस्ता कुरालाई पनि उक्त पार्टीले आºनो घोषणपत्रमा समावेश गरेको छ । त्यसैगरी, साना समुदायलाई राज्यको हरेक निकायमा पहुँच पुर्याउने उद्देश्यले स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र गैरभौगोलिक विशेष क्षेत्रको अवधारणालाई पनि सो पार्टीले अगाडि सारेको छ ।
नयाँ संविधानका अन्तर्वस्तु भनेर ३० बुँदामा समावेश गरिएको उक्त घोषणापत्रमा केन्द्रलाई सुरक्षा, वित्तीय, विदेश, कर अधिकारलगायत पाँच विषयमा पूर्ण अधिकारको मोडेल अगाडि सारिएको छ । उच्चस्तरीय सीमा निर्धारण आयोग गठन गरेर सीमा निर्धारण गर्ने विषयलाई पनि उक्त पार्टीले आºनो घोषणापत्रमा समावेश गरेको छ । ‘केन्द्रदेखि तलसम्म सबै निकायमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने व्यवस्थालाई घोषणापत्रमा समावेश गरेका छौँ,’ श्रेष्ठले भने । त्यसैगरी, उक्त दलले आºनो घोषणापत्रमा संघीय इकाइ निर्माण गर्दा पहिचानलाई प्राथमिक आधार र सामथ्र्यलाई द्वितीय आधार मान्नुपर्ने कुरालाई समावेश गरेको छ । नेकपा एमालेसँग राज्य पुन:संरचनका विषयमा असन्तुष्टि जनाउँदै अशोक राईसहित केही नेता अलग भएर गत वर्ष मात्रै संघीय समाजवादी पार्टी गठन गरेका थिए ।
प्रतिक्रिया