रेग्मी–यादव भेटवार्ता

काठमाडौं, ८ कात्तिक । सरकारको कामकारबाही, चुनावी तयारीका विषयमा छलफल गर्न राष्ट्रपति डा.रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच भेट भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार भएको भेटवार्तामा मुलुकको पछिल्लो शान्ति सुरक्षाका विषयमा समेत छलफल भएको बुझिएको छ । अध्यक्ष रेग्मीले मंसिर ४ मा हुने संविधान सभा निर्वाचनको तयारीका साथै सरकारका कामकारबाहीलगायतका विषयमा डा.यादवलाई जानकारी गराएका थिए । राष्ट्रपति डा. यादवले मतदातालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र उम्मेदवारलाई सुरक्षा प्रदान गर्न पनि सरकारलाई निर्देशन दिएको बुझिएको छ ।

यसैबीच, आगामी संविधानसभा निर्वाचन पर्यवेक्षणका लागि युरोपेली युनियनका ३४ तथा कार्टर सेन्टरका १६ जना कार्यक्षेत्रमा खटिएका छन् । त्यस्तै एसियन नेटवर्क फर फ्री इलेक्सन (एनफ्रेल) का १४ जना शुक्रबारबाट कार्यक्षेत्रमा खटिादैछन् । एनफ्रेलका कार्यक्षेत्रमा खटिने पर्यवेक्षकका लागि आयोगले बुधबार अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
उनीहरूलाई निर्वाचन प्रणाली, निर्वाचन प्रक्रिया, पर्यवेक्षण नीति नियम, आचारसंहिता र कार्यक्षेत्रमा गएर कसरी काम गर्ने र कोसाग सम्पर्क गर्नेलगायतका विषयमा जानकारी दिइएको आयोगका सहसचिव सुरेश अधिकारीले बताए  । प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, आयुक्त डा रामभक्त पिवी ठाकुर र संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमका कृष्णचन्द्र न्यौपानेले सो अभिमुखीकरण कार्यक्रममा पर्यवेक्षणका विविध पक्षबारे जानकारी गराउनुभएको थियो । यसपटकको संविधानसभा निर्वाचनलाई स्वदेशका ५४ संस्थाका ७६ हजार ५७८ तथा विदेशका तीन संस्थाका २२३ जनाले पर्यवेक्षण गर्दैछन् । त्यस्तै सार्क राष्ट्रका निर्वाचन प्रमुख, नेपालस्थित राजदूतावासका राजदूतलगायत जापान, अष्ट्ेरलिया, थाइल्यान्ड, दक्षिण कोरिया र बेलायतका प्रतिनिधिले निर्वाचनको पर्यवेक्षण गर्ने छन् । तीमध्ये जापान सरकार र संसद्को प्रतिनिधि, अष्ट्ेरलिया र माल्दिभ्सबाट आउने पर्यवेक्षकका बारेमा पनि जानकारी आएको सहसचिव अधिकारीले जानकारी दिनुभयो । आयोगबाट हालसम्म ६ सय ७१ जनाले पर्यवेक्षकको कार्ड लिइसकेको बताइएको छ ।
सहयोगको क्रम जारी
संविधानसभा निर्वाचनका लागि सरकारको शान्ति कोष र विभिन्न दातृ निकायबाट समेतगरी हालसम्म रु ७ अर्ब ५७ करोड सहयोग प्राप्त भएको छ । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार यो सहयोगमा सरकारबाट रु ४ अर्ब ७५ करोड र बास्केट फन्डमार्फत दातृ निकायबाट ३ अरब रुपैया रहेको छ । यसका अतिरिक्त अन्य वस्तुगत सहयोग पनि प्राप्त भएको जानकारी प्रवक्ता राइले दिए । वस्तुगत सहयोगतर्फ जापान सरकारबाट ब्यालेट बक्स, स्टिकरलगायतका ९ प्रकारका सामग्री र चीन सरकारबाट कौची, घडी, क्यालकुलेटरलगायत १६ प्रकारका सामग्री प्राप्त भएको प्रवक्ता राईले जानकारी दिए ।
मृत्यु हने सरकारी कर्मचारीलाई क्षतिपूर्ति
सरकारले संविधनासभाको निर्वाचनमा खटिएका कर्मचारीको कामको सिलसिलामा मृत्यु भएमा उनीहरुका आश्रित परिवारलाई बढीमा रु १५ लाखसम्म क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को विहिवारको बैठकले कार्यक्षेत्रमा खटिएकै बेला कसैको मृत्यु भएमा बढीमा रु १५ लाखसम्म क्षतिपूर्ति दिने निर्णय भएको जानकारी सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले दिए । बैठकले संविधानसभा निर्वाचनमा परिचालन गर्न तलब भत्ता बाहेकको बजेटबाट बजेटकै सीमाभित्र रही सरकारी कार्यालयका सवारी साधनको आवश्यक मर्मत गर्न पनि स्वीकृति प्रदान गरेको छ । यसैगरी स्वास्थ्य अध्यादेशको कानुन तर्जुमा गर्ने विषयलाई सहमति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नेतृत्वमा ४ सदस्यीय टोलीलाई कात्तिक ८ देखि १६ गतेसम्म चीन भ्रमण गर्न स्वीकृति प्रदान गर्ने र बङ्गलादेशमा कात्तिक २५ देखि २६ गतेसम्म हुने सार्क महासचिवको बैठकमा मुख्यसचिवको नेतृत्वमा भाग लिन स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया