कैलालीका चार र कञ्चनपुरका तीन मतदान केन्द्र अपांगमैत्री

धनगढी, ८ कात्तिक । अशक्त तथा अपाङगता भएका व्यक्तिहरुको मतदानमा पहुच पुर्‍याउने उद्देश्यले कैलालीका चार र कञ्चनपुरका तीन मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ ।

अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म सहजै ह्रविलचियर गुडाएर पुग्न सक्ने गरी र्‍याम्प निर्माण गरी अपांगमैत्री बनाइएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
पहिलोपटक निर्माण गरिएका यी अपांगमैत्री मतदान केन्द्रमा अपांगता भएकाहरुलाई सजिलोसाग मतदान गर्न सहयोग पुग्ने कैलाली निर्वाचन कार्यालयका शाखा अधिकृत लक्ष्मीराज जोशीले बताए । उनले अपांगमैत्री मतदान केन्द्र निर्माण गर्दा अपांगता बढी भएका क्षेत्रलाई छनौट गरिएको बताए ।
शाखा अधिकृत जोशीका अनुसार कैलालीको क्षेत्र नंम्बर २ को बलियामा रहेको राष्ट्रिय उमावि मोतिपुर मतदान केन्द्र, क्षेत्र नंम्बर ४ को सुखडस्थित राष्ट्रिय उमावि, क्षेत्र नंम्बर ५ को श्रीपुरस्थित शैलेश्वरी उमावि र क्षेत्र नंम्बर ६ को बेहडी स्कुलको मतदान केन्द्रमा र्‍याम्पसहितको अपांगमैत्री निर्वाचन केन्द्र राखिएका छन् ।
यसैगरि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को गुलरियास्थित कृष्ण उमावि मतदान केन्द्र, क्षेत्र नंम्बर ४ को शान्ति निकेतन उमाविको मतदान केन्द्र र सोही निर्वाचन क्षेत्रको महेन्द्रनगर उमावि मतदान केन्द्रमा र्‍याम्पसहितको अपांगमैत्री निर्वाचन केन्द्र रहेका छन् ।
अपांगता भएका व्यक्तिहरुलाई अन्य मतदाताझै मतदान केन्द्रहरुमा पुग्न सक्ने अवस्था नरहने भएका कारण र्‍याम्प निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ । देशभरका ५० वटा निर्वाचन केन्द्रलाई आयोगले अपांगमैत्री बनाएको छ ।
अपांगमैत्री बाहेक अन्य मतदान केन्द्रहरुमा समेत अपाङगता भएका व्यक्तिहरु, अशक्त, वृद्धवृद्धालगायतलाई समेत मतदान केन्द्रमा लाइनमा नबसी सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको शाखा अधिकृत जोशीले बताए ।
राष्ट्रिय अपांग महासङघ सुदूरपश्चिमका संयोजक उपेन्द्र खडायतले अपांगता भएका व्यक्तिहरुको मताधिकार सुनिश्चित गर्नका लागि मतदान केन्द्र अपांगमैत्री हुनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया