एमाओवादी र माओवादीको भिडन्त

maobadi flagविराटनगर, ७ कात्तिक । पहिलो संविधानसभाको अवसानपछि विधिवत रूपमा अलग भएका दुई माओवादीबीचको सम्बन्ध मोरङमा तिक्ततापूर्ण बनेको छ । विगतका विभिन्न अड्कलबाजीहरूलाई गलत सावित गर्दै एमाओवादी र नेकपा–माओवादीबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको हो ।

४ मंसिरमा हुने दोस्रो संविधानसभाको पक्ष र विपक्षमा रहेको दुई माओवादीबीच पछिल्लो समयमा धेरै ठाउँमा मुठभेडकै अवस्थासमेत देखिएको छ । केही समय अघिसम्म दुई माओवादीबीच एकीकरण हुने, चुनावमा तालमेल हुनेलगायत अड्कलबाजी गरिएको थियो । कतिपयले त माओवादीले रणनीतिक रूपमै विभाजनजस्तो देखाएर राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाउन खोजेका सम्मका अड्लबाजी गरेका थिए । तर, ती सबै अड्कालबाजीलाई गलत साबित गर्दै मोरङमा दुई माओवादी कार्यकर्ताहरू एक अर्काप्रति असहिष्णु बन्न थालेका छन् । आइतबार मोरङ टाडीमा चुनावी प्रचार अभियानमा पुगेका एमाओवादीका कार्यकर्तालाई नेकपा–माओवादीका कार्यकर्ताले कार्यक्रम बिथोलेर फर्काइनै दिए । त्यसक्रममा केहीबेर दुई माओवादी कार्यकर्ताबीच घम्साघम्सी नै चलेको थियो ।
सोमबार एनेकपा माओवादीका मोरङ क्षेत्र नम्बर ९ का उम्मेदवार वर्षमान पुनसमेतको उपस्थितिमा भएको चुनावी सभामा नेकपा–माओवादीका कार्यकर्ताहरूले कालो झन्डा देखाएका छन् । त्यसक्रममा पनि दुई माओवादी कार्यकर्ताबीच केहीबेर तनाव उत्पन्न भए पनि सुरक्षाकर्मीसमेतको सहयोगमा स्थिति सामान्य बनाइएको थियो । मोरङको टाडी दुवै माओवादीको क्षेत्र नम्बर ९ मा नेतृत्व पंक्तिका नेताहरूको बसोबास रहेको गाविस हो । एमाओवादीका प्रेममिभक दृष्टी र नेकपा–माओवादीका कुशल लिम्बूको वसोबास रहेको गाविस भएकाले पनि दुवै माओवादीले विशेष गरेर टाडीका कार्यक्रमहरूलाई प्रतिष्ठाकै विषय बनाएर हेर्ने गरेको स्रोतको भनाइ छ ।
मोरङमा दुई माओवादीबीचको सम्बन्ध तिक्ततापूर्ण भएको नेताहरू स्विकार गर्छन् । नेकपा–माओवादीका मोरङ इन्चार्ज हेम कार्कीले आइतबार र सोमबार भएका कार्यक्रम केन्द्रीय निर्देशनअनुसार नै भएको बताए । उनले सबै उम्मेदवारको कार्यक्रममा अवरोध गर्ने नीति रहेको बताए पनि एमाओवादीप्रति आफ्ना कार्यकर्ता बढी आक्रमक रहेको स्विकार गरे । ‘हिजो सँगै जनयुद्ध गरेकाहरू नै हामीविरुद्ध सेनासमेत परिचालन गरेर चुनाव गराउन अग्रसर भएकाले बढी आक्रोशित भएका’ उनले भने, ‘यो इगोको समस्याका रूपमा देखा परिरहेको छ ।’ एमाओवादीका मोरङ इन्चार्ज तथा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार शिवकुमार मण्डलले ‘इगो’को समस्याका उपजका रूपमा आफूहरूलाई लक्षित गरेर विरोधका कार्यक्रम गरिरहेको आरोप लगाए ।
मोरङमा धेरै पुराना र प्रभावशाली मानिएका नेताहरू नेकपा–माओवादीमा आबद्ध छन् । क्षेत्र नम्बर २ पहिलो संविधानसभा निर्वाचनमा एमालेका स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीलाई पराजित गर्ने लालबहादुर सुस्लिङ मगर, क्षेत्र नम्बर ९ मा कांग्रेसका डिगबहादुर लिम्बूलाई पराजित गर्ने नगेन्द्र धिमालसहित केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले समर, कुशल लिम्बू, लोचन धमला, हेम कार्की, जयराम सुन्दासलगायत नेताहरू वैद्य नेतृत्वको माओवादीमा छन् । पार्टी विभाजको असर सबैभन्दा धेरै क्षेत्र नम्बर २ र ९ मा देखिएको छ । २ मा धेरै मतदाता रहेको गाविस शनिश्चरेका बासिन्दासमेत रहेका मगर वैद्य नेतृत्वको माओवादीतर्फ लागेपछि एमाओवादीले केन्द्रीय सदस्य भए पनि स्थानीय स्तरमा खासै सम्पर्क नभएका कुमार पौडेललाई उम्मेदवार बनाएको छ भने ९ मा केन्द्रीय नेता वर्षमान पुनलाई उम्मेदवार बनाएको छ ।
यसैबीच, एमाओवादी मोरङले भने सोमबार मोरङको टाडीमा आफ्नो चुनावी सभामा वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताहरूले कालो झन्डा नदेखाएको दाबी गरेको छ ।
उक्त पार्टीका मोरङ क्षेत्र नम्बर ९ निर्वाचन परिचालन संयोजक लक्ष्मी पौडेल विवेकले एमाओवादीका मोरङ क्षेत्र नम्बर ९ का उम्मेदवार वर्षमान पुनको उपस्थितिमा भएको कार्यक्रममा कालोझन्डा नदेखाएको दाबी गरेका छन् ।

प्रतिक्रिया