एमाओवादीको बहुमत नआए अहिले पनि संविधान जारी हुँदैन : शेरचन

चितवन, २५ असोज । एकीकृत एमाओवादीका वरिष्ठ केन्द्रीय सदस्य अमिक शेरचनले आगामी संविधानसभाको निर्वाचनमा एमाओवादीको बहुमत नआए अहिले पनि संविधान जारी गर्न नसकिने जिकिर गरेका छन् ।

अनुशासन विभागका अध्यक्षसमेत रहेका शेरचनले संघीयताको मूल मुद्दालाई लिएर पार्टीअगाडि बढेको बताए । क्रान्तिकारी पत्रकार संघ चितवनद्वारा भरतपुरमा आयोजित बडादशैँ, तिहार, नेपाल संम्वत, छठ पर्व तथा इद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
त्यसैगरी चितवन क्षेत्र नम्बर ३ का एमाओवादीका उम्मेद्वार एवं ताम्सालिङ राज्य समितिका संयोजक नारायण दाहालले सर्वप्रथम राजनीतिक परिपाटी संस्थागत हुन आवश्यक रहेको विचार व्यक्त गरे । राजनीतिक स्थिरतापछि मात्र देश विकास सम्भव हुने बताउँदै नेता दाहालले अघिल्लो संविधानसभाबाट संविधान जारी हुन नसक्नुलाई व्यक्ति विशेषलाई मात्र दोष देखाउनुभन्दा पनि त्यसलाई राजनीतिक ढंगबाट मूल्यांकन गर्नु आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा चितवन क्षेत्र नम्बर ४ का एमाओवादीका उम्मेद्वार एवं केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले जातीय अधिकारलाई सुनिच्छित गर्नुपर्ने बताउँदै पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाट संविधान भन्ने नाराको साथ पार्टीअगाडि बढेको स्पष्ट पारे ।
कार्यक्रममा एमाओवादीका नेताले आगामी निर्वाचनमा पत्रकारको भूमिका उल्लेख्य रहेको बताउँदै जनातालाई सकरात्मकतबरबाट सुसूचित गर्न पत्रकारलाई आग्रहसमेत गरेका छन् । साथै प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिबद्ध रहेको भन्दै उनले घोषणापत्रमा समेत उक्त विषय समेटिएको र आगामी दिनमा पनि प्रेस स्वतन्त्रतालाई प्रथामिकता दिने बताए । क्रान्तिकारी पत्रकार संघ चितवन शाखाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर सञ्जालीले स्वागत एवं शुभकामना मन्तव्य राखेको सो कार्यक्रममा क्रान्तिकारी पत्रकार संघ चितवन शाखाका सदस्य सूर्य भुषालले धन्यवाद मन्तव्य राखेका थिए । क्रान्तिकारी पत्रकार संघ चितवन शाखाका सहसचिव राजेन्द्र आचार्यले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया