पाकेको बालीमा भालुको रजाइँ

सोलुखुम्बु : माथिल्लो क्षेत्रका किसानहरु भालुको आंतकबाट त्रसित भएका छन् । मकैबाली, स्याउ, आरु लगायतका फलफूल खाएर भालुले कृषकलाई हैरान बनाएको हो । गार्माका कृषक ल्हाक्पा शेर्पाले भने –“रातभर मकैबारीमा बसेर मकै रुग्नुपर्छ, एकैछिन मात्र भालु पस्न पायो भने बाली नै सखाप बनाइदिन्छ ।” भालुले गार्मा, तामाखानी, टाक्सिन्दु, जुभिङ लगायतका क्षेत्रको मकैबालीमा निकै क्षति पुर्‍याएको कृषकहरू बताउछन् । जुभिङका कृषक जोरमान् राई भन्छन् –“गत वर्ष पनि एकै रातमा धेरैजसो मकै भालुले सिध्याइदिएको थियो, यस वर्ष चाहि आजसम्म जोगाउन सकिएको छ, अब एक हप्ता जोगउन सके त यो वर्षभरि खान पाइन्थ्यो” । गत वर्ष भालुले मकैबाली सखाप बनाएपछि राहत पाइन्छ कि भनेर जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय आदि कार्यालयमा धाएको भए पनि केही सहयोग नपाएको उनको गुनासो छ ।
मकैबाली पाक्न थालेपछि जङ्गलबाट भालु गाउमा पस्न थालेकाले बारीमा जानसमेत डर भएको बेनीका कृषक पेम्बा शेर्पा बताउछन् । आजभोलि एक्लै बारीमा जान वा केटाकेटीलाई मात्र जङ्गलमा पठाउन पनि मुस्किल पर्ने भएको उनको भनाइ छ । घर नजिकै सम्म आएर भालुले मकै, स्याउ लगायतका बालीमा क्षति पुर्‍याउन थालेपछि कृषक हैरान भएका हुन् ।

प्रतिक्रिया