उम्मेदवारको अन्तिम नामावली आयो

Elecatation-Commisionकाठमाडौं, २४ असोज । निर्वाचन आयोगले ४ मंसिरमा हुने दोस्रो संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशन गरेको छ । ७५ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयहरूले प्रकाशन गरेको उम्मेदवारको एकमुष्ट विवरण भने आयोगले उपलब्ध गराएको छैन । ‘मुलुकका ७५ वटै जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयले बुधबार सबै दलका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन्,’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने, ‘हामीलाई केही जिल्लाको उम्मेदवारको नामावली भने प्राविधिक समस्याका कारण उपलब्ध हुन सकेको छैन ।’
गत बिहीबार बिहान १० देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । दुई सय ४० वटा चुनाव क्षेत्रबाट ६ हजार तीन सय ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
आयोगले जारी गरेको चुनावी कार्यक्रमअनुसार प्रत्यक्षतर्फका उम्मेदवारले १७ गते मनोनयन दर्ता गरेका थिए । आयोगमा एक सय २४ दलले चुनावमा भाग लिन निवेदन दिएका थिए । आयोगमा चुनावका लागि दल दर्ता गराउने राजनीतिक दलको संख्या भने एक सय ३० थियो । १७ गते प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची आयोगले १८ गते प्रकाशन गरेको थियो । प्रत्यक्षतर्पका उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम आयोगले १९ असोजलाई तोकेको थियो । त्यसैगरी, प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशन गरेको आयोगले २४ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया