जेलबाट छुटेकालाई क्विन्टलको माला

Khumbahadur-Khadkaकाठमाडौं, २४ असोज । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेका पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्का कैद सजाय भुक्तान गरी बुधबार छुटेका छन् । करिब १४ महिनाको कारागार बसाइपछि खड्का बुधबार मुक्त भएका हुन् ।

भ्रष्टाचारी ठहर भई कैद सजाय भोगेका खड्कालाई जेलमुक्त भएलगत्तै उनका समर्थकले सदरखोर डिल्लीबजारबाहिर भव्य स्वागत गरेका थिए । समर्थकले खड्कालाई करिब एक क्विन्टल तौलको फूलको माला पहिर्‍याइदिएका थिए । रौतहट, पर्सालगायत केही जिल्लाबाट आएकाहरूले खड्कालाई उक्त माला पहिर्‍याएको एक समर्थकले बताए । ती व्यक्तिका अनुसार कांग्रेस नेता अजय चौरसियाको नेतृत्वमा उक्त माला पर्साबाट ल्याइएको हो ।
खड्का छुट्ने बेला डिल्लीबजार क्षेत्रमा समर्थकको बाक्लो उपस्थिति थियो । भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । जेलबाट छुटेलगत्तै उनले समर्थकलाई सम्बोधन गरेका थिए । उनको स्वागतका लागि गृहजिल्ला दाङसहित विभिन्न जिल्लाबाट समर्थक राजधानी आएका थिए ।
उनले जेलबाट छुटेपछि समर्थकलाई सम्बोधन गर्दै न्यायापालिकाबाट आफूमाथि अन्याय भएको दोहोर्‍याए । ‘सरकारी सम्पत्ति दुरुपयोग गरेको वा हिनामिना गरेको छैन,’ उनले भने, ‘सरकारी सम्पत्ति दुरुपयोग गरेको एउटा पनि प्रमाण छैन ।’ उनले अनुमानको भरमा ‘अनुमानित कसुर’ नाम दिएर आफूलाई जनता र राजनीतिबाट टाढा राख्ने प्रपञ्च भएको जिकिर गरे ।
उनले आफूलाई विनाप्रमाण जेल सजाय तोकिएको पनि जिकिर गरेका थिए । ‘दुईजना न्यायाधीशले मेरो राजनीतिक यात्रा अन्त्य गर्ने षड्यन्त्र गरे,’ उनले भने, ‘मेरो फैसला जनताले गर्ने हो, दुई न्यायाधीशले होइन ।’
उनले मुलुकको अवस्था, प्रजातन्त्र र ‘खतरामा परेको राष्ट्रियता’का विषयमा जेल बसाइका क्रममा सोच्ने गरेको उल्लेख गरे । आगामी दिनमा कांग्रेसले दिने जिम्मेवारी बहन गरेर बस्ने उनको भनाइ थियो ।
उनले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिरै राखेर गरिने चुनावले द्वन्द्व निम्त्याउने धारणा पनि व्यक्त गरे । ३३ दलीय मोर्चाको विषय कांग्रेस र अन्य जिम्मेवार प्रमुख दलहरूले गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो । उनले नेकपा–माओवादीलाई बाहिर राखेर गरिने चुनावपछि आउने परिणामको जिम्मेवारी कांग्रेस सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवाले लिनुपर्ने बताए । ‘भोलि कांग्रेसका कार्यकर्ता मारिने लुटिने, पिटिने, सम्पत्ति जफत हुनेछ,’ उनले भने, ‘त्यसो
भयो भने सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले जिम्मेवारी लिनुपर्छ ।’
सर्वाेच्चले खड्कालाई ३० साउन २०६९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद सजाय र ९४ लाख ७४ हजार एक सय २२ रुपियाँ बिगो तथा त्यति नै जरिवानाको फैसला सुनाएको थियो । सर्वोच्चको फैसला स्वीकार गर्दै खड्का ५ भदौ २०६९ मा सदरखोर डिल्लीबजार गएका थिए ।
सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलाजले खड्काको मुद्दामा फैसला सुनाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहँदा खड्काले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । खड्काले पटक–पटक मन्त्री हुँदा दुई करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले २९ कात्तिक २०६३ मा खड्कालाई सफाइ दिएपछि त्यसको १५ चैत २०६३ मा सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

प्रतिक्रिया